२९ असार, गुल्मी । जिल्लाकाे मुसिकोट नगरपालिकामा घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर एक पुरुषको ज्यान गएको छ ।
गुल्मीको मालिका गाउँपालिका १ नेटा घर भई हाल मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरी बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको छ ।
शनिवार राती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका घर्तिलाई लुम्बिनी मेडिकल कलेज वामी शाखामा उपचार हुन नसकेपछि थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बिच बाटोमै आइतबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।
स्थानीय बासीका अनुसार शनिवार राती घर्ती डेरा नजिकै अन्य कसैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंका लागेर घर्तिकी श्रीमतीले उनी बसेको घरको बाहिरबाट ढोका लगाई दिएपछि आत्तिएर भाग्न खोज्दा घर्ती सोही घरको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए ।
मृतकको अहिले पोष्मार्टम गरी परिवारलाई शव बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले बताएका छन् ।