२७ असार, काठमाडौँ l कृषि मन्त्री चक्रपाणि खनालले पछिल्लो समय सतहमा आएको विषादी बहसले सचेतना जगाएको बताए । आज बिहानै कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण एकाइको अनुगमन गर्ने क्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।
मन्त्री खनालले भने, ‘विषादीबारे अहिले आ–आफ्नै ढङ्गले बहस भइरहेको छ । बहस हुनु, छलफल हुने राम्रो पक्ष हो l यसले सचेतनाको पक्षलाई जोड दिएको छ । सचेतना जगाएको छ ।’
उनले नेपालसँग प्राप्त नभएको प्रविधि नेपालले ल्याउनु पर्ने भन्ने कुरा सरकारको जिम्मेवार निकायमा पुगेको भन्दै त्यसका लागि सरकारले कदम चाल्ने बताएका छन् l
भन्सार विन्दूस्थित क्वारेन्टाइनमा परीक्षण गर्न सकिने विषादीको २ वटा समूह कार्बोनेट र अर्गानोफस्फेट मात्रै जाँच भएता पनि ती समूहभित्रै बढी जसो विषादी अटाउने मन्त्री खनालको भनाइ छ ।
उनले भने, ‘हाम्रो यहाँ १ सय ६९ किसिमका विषादी सूचीकृत भएका छन् । पञ्जीकरण भएका छन् l तीमध्ये ३३ प्रतिशत विषादी कार्बोनेट र अर्गानोफस्फेट समूहले ओगट्छ ।’