२७ असार, कञ्चनपुर – कञ्चनपुर जिल्ला लिग फुटबलको उपाधि भीमदत्त नगरपालिकाको दिपज्योति क्लब हल्दुखालले जितेको छ । यहाँस्थित फुटबल खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा कञ्चन समाज ऐठपुरलाई ४–१ गोलले हराउँदै दिपज्योतिले उपाधि हात पारेको हो ।
विजेतालाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरे । कार्यक्रममा राज्यमन्त्री रावलले सुदूरपश्चिमको खेलकूद विकासका लागि प्रदेश सरकार योजनासहित अघि बढेको बताए । उनले खेलकूदको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरी अघि बढिरहेको बताए ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव रमेशबहादुर चन्दले असार ७ गतेदेखि शुरु भएको प्रतियोगितामा ११ क्लबको सहभागिता रहेको जानकारी दिए । समापन समारोहमा २५ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, २५ नम्बर वाहिनीका सहायक वाहिनीपति महासेनानी ललितबहादुर कुँवर, वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।