पिता भीमबहादुर लकान्द्री र माता रीतामाया लकान्द्रीको सुपुत्रको रुपमा वि.स. २०४४ साल चैत्र २० गते अरुणाचल प्रदेश, भारतमा जन्मिएका सरोज अनुराग स्थायी रुपमा मोरङ, रतुवामाई नगरपालिकामा बसोबास गर्दछन् । हाल अरुणाचल प्रदेश, भारतमै रहेका अनुरागको अस्थिर अर्थ (गजल सङ्ग्रह-२०६४) प्रकाशित छ ।
प्रस्तुत छ, सल्लेरी कोलाजका लागि गजलकार सरोज अनुरागसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:
राजु- तपाईंमाथी ‘निकै राम्रो गजल लेख्थे, तर अहिले लुप्त छन् !‘ भन्ने आरोप छ । यो आरोपले तपाईंलाई कत्तिको सकसमा पार्छ ? अहिले सिर्जनात्मक हिसाबले के गर्दै हुनुहुन्छ ?
अनुराग- यो आरोप भन्दा पनि सायद मप्रतिको गजलप्रेमीहरूको आशा हो । दु:ख लाग्छ, मैले वहाँहरूले आशा गरे अनुरुपको लेख्न सकिनँ । गजल जति बुझ्दै गइयो उति कम लेखिदैँ गए । अहिले त गजल हैन, एउटै मात्र राम्रो शेर लेख्न सके पनि आनन्द लाग्छ तर लेख्छु भनेर बस्दैमा सिर्जना हुँदैन । त्यसैले यो लेख्दैछु, त्यो लेख्दैछु भन्ने अवस्था छैन मेरो ।
राजु- प्रायत: नेपाली गजलमा माया-प्रेम, धोकाधडी, नखरा, मिलनको चाहना, घरदेश-परदेश, नेतालाई गाली, आदि इत्यादी कुराहरुकै हालिमुहाली देखिन्छ । भक्तिभाव, सांसारिक जीवन, मानवियता/नैतिकताको स्खलन लगायतका कुराहरु नेपाली गजलको समकालीनता हुन किन सकिरहेको छैन ?
अनुराग- सिर्जनाहरू सधैँ एकनाशे हुँदैनन्, यसका बिषयवस्तु पनि भाषाजस्तै परिवर्तन हुन सक्छन् । यो नौलो कुरा होइन । वर्तमान समयमा नेपाली गजलहरूको रचनाभण्डार मायाप्रेम, धोकाधडी, नखरा, मिलनको चाहना, घरदेश-परदेश आदि हो किनकि यी मान्छेका सदावहार समस्या हुन् अनि त्यही साझा गुणहरू उसको सिर्जनामा देखिनु स्वभाविक भइहाल्यो । अब भक्तिभाव, सांसारिक जीवन किन समकालीनता हुन सकिरहेको छैन ? भन्ने कुराको जवाफ त अहिलेको रचनाभण्डारले नै दिईसकेको छ नि !
राजु- संरचना छाडेर गजलको विशेषता बताउन पर्दा के बताउनुहुन्छ ?
अनुराग- गजल मात्र यस्तो विधा हो जो संरचना बिना कल्पना गर्न सकिन्न । यसलाई अरु विधाबाट अलग बनाउने एउटा पक्ष संरचना पनि हो । तर पनि संरचना छाडेर भन्नु पर्दा गजल शेरैपिच्छेका अलग-अलग कविताहरू हुन् ।
राजु- बहरमा गजल लेख्ने प्रचलन बारे कुरा गरौं । ‘बहर अभ्यास कठिन मानिन्छ ?’ हो ? बहरको अभ्यास गर्दा गजलको स्वाभाविकपना नष्ट हुने र त्यो कृत्रिम तथा निरस हुने आरोप छ । के भन्नुहुन्छ,”बहरको लागि गजल लेख्ने कि गजलमा बहर प्रयोग गर्ने ?
अनुराग- बहरको अभ्यास कठिन छैन, यसलाई बहरमा लेख्नेहरूले नै कठिन र दुरुह भनेर प्रचार गरेका मात्र हुन् । किनकि त्यसो गरेर उनीहरू अरुको नजरमा विशिष्ट गजलकार बन्न चाहन्छन् । सिकारुहरूका लागि बहरमा अभ्यास गर्दा शुरुशुरुमा केही गजलहरू कृत्रिम र निरस बन्छन् नै ! किनकि त्यतिबेला ऊ गजल हैन बहर मात्र सिकिरहेको हुन्छ । जुनदिन बहरका लागि गजल लेख्न छोडेर गजलमा बहर प्रयोग गर्न थाल्छ, त्यतिबेला उसलाई बहर पनि अनुशासन लाग्न थाल्छ ।
०००
प्रस्तुत छ, उनका तीन गजल:
पहिलो गजल:
मान्छे सेतो रंगमा नै झुक्किएका छन् ।
जैल्यै चियामा नुन हाली पिएका छन् ।।
ए आँसु बाटामा पोख्नेहरु हो ! टिप्,
लौरो टेकी हिड्ने पनि चिप्लिएका छन् ।।
काँडा हुने फूल झन् नाजुक हुँदा रै’छन्,
जोजो सियो बोक्थे सब उध्रिएका छन् ।।
सस्तो बनाएछन् हाम्रा सहिदले खून,
काला उडुस खाटमा झन् दौडिएका छन् ।।
दोस्रो गजल:
फुलहरुले कैल्यै पनि काँडालाई चुमेनन्
बदलामा काँडाले नि कुनै फूल सुंघेनन् ।।
मुस्कुराउँदै छ पुरानो चिठ्ठी खोलेर ऊ,
सायद उसका आँखा अझै मितिमा पुगेनन् ।।
रातो बेलुन एकछिन फुल्यो र बिस्तारै सुक्यो,
हावा भर्नेहरुले नङ गाडिएको बुझेनन् ।।
मिल्न सक्थे दुई किनारा अलि पर गएर
यी नदीका पानी तर कहिल्यै सुकेनन् ।।
अनुरागले ‘दुश्मन’राख्यो आफ्नो नाम बद्लेर
माया गर्नेहरुले त् त्यसपछि पो भुलेनन् ।।
तेस्रो गजल:
जीवनभर यसोरी आफूलाई सजायो
मोजा कालो लायो, जुत्ता सेतो लायो ।।
तारा टिप्छु भन्थ्यो आकाशका मसँग,
जुत्तामा बिचSSरा माटैमाटो ल्यायो ।।
अन्धो खूब प्रशंसा गर्थ्यो चन्द्रमाको,
त्यै कारणले होला ऊ राती उदायो ।।
उसले स्वप्न देख्यो ‘आरामले सुतेको’
पूरा हुन नपाउँदै भालेले उठायो ।।
आवाज रोक्नलाई क्यै लाटाहरुको,
बैराले निकैबेर रेडियो बजायो ।।
०००
०००
यी पनि पढ्नुहोस्ः