२४ असार, काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।
हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणलाई हाल अभियानकै रुपमा वितरण भइरहेको छ । यो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुनेछ ।
राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारको रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो । रासस