Logo

जिल्ला अस्पताल एम्बुलेन्सविहीन



Spread the love

२३ असार, स्याङ्जा l जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करिब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ ।

पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा बिरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका बिरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउँदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका बिरामीलाई अस्पतालले हेर्ने दृष्टिकोणमा समेत फरक हुने गरेको श्रेष्ठले बताएका छन् ।

जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर ट्याक्सीमा यो सुविधा हुँदैन यसले गर्दा पनि एम्बुलेन्सको अभावमा बिरामी मर्कामा परेको श्रेष्ठले बताए ।

जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करिब एक वर्षदेखि एम्बुलेन्स बिग्रिएर प्रयोग विहीन अवस्थामा रहेको बताए । पोख्रेलले भने, “यहाँ उपचारका लागि आउने बिरामीहरू अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।”

अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट गरे ।

शर्माले भने,“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्‍यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुलेन्स माग गरिएको जानकारी उनले दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्