२२ असार, काठमाडाैँ – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गरीब तथा विपन्न समुदायको उत्थानका लागि सरकारले फुसको छाना विस्थापित गर्न कार्यक्रम सञ्चालन गरेको बताएका छन् । सुरक्षित नागरिक आवास समन्वय समिति बाँकेले आज आयोजना गरेको कार्यक्रममा उनले यस वर्ष मुलुकभर २० हजार फुसका घरमा जस्तापाताको छाना लगाइने बताए ।
दुई वर्षभित्र नेपालगञ्जलाई देशकै नमूना शहरको रुपमा विकास गर्न आफू लागि परेको मन्त्री राईले बताए । उनले साउन पहिलो सातासम्म नेपालगञ्जको वातावरण सुधारका लागि १० वर्षभित्र ठूला हुने रुख रोपण गर्ने योजना रहेको बताए । बाँकेको नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उपमहानगरपालिकाका दुई हजार ७०० घरलाई सो कार्यक्रमअन्तर्गत समेटिएको छ ।
छनोटमा परेका व्यक्तिलाई पहिलो किस्तामा रु ३० हजार बैंकमार्फत उपलब्ध गराइने छ । छाना लगाइसकेपछि बाँकी रु १७ हजार ५०० खातामा जम्मा गरिने छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र प्रदेशसभा सदस्य विजयबहादुर यादवले फुसको छाना विस्थापित गर्ने सरकारी योजनाको स्वागत गरे ।