२२ असार, काठमाडाैँ – अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–७ द्वारा शनिबार क्षमता अभिवृद्धिसम्बन्धी तालीमको आयोजना गरियो । पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले तालीमको उद्घाटन गरेका थिए ।
महानगरले सहकारीलाई उत्पादनसँग जोडने अभियान सञ्चालन गर्न लागेको उनले जानकारी दिए । सहकारीको मापदण्ड एवम कार्यविधि बनाएर व्यवस्थित गरिने तयारी भइरहेको अधिकारीले बताए । उनले एक सहकारी, एक व्यक्ति तथा पाँच हजार शेयर सदस्य बराबर एक सहकारीको नीतिलाई कार्यान्वयन गरिने उल्लेख गरे ।
पोखरा महानगरपालिकाभित्र ३४३ सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेको बताउँदै अध्यक्ष अधिकारीले ‘एक सहकारी, एक उत्पादन’ कार्यक्रमलाई प्रभावारी बनाइने जानकारी दिए । बाँझो जग्गाको भरपुर उपयोग गर्दै उत्पादन र रोजगारीसँग जोड्नका लागि महानगरपालिकाले रु दुई करोड बजेट विनियोजन गरेको उनको भनाइ थियो । महानगर सहकारी व्यवस्थापन समितिका सदस्य एवम प्रशिक्षक भीम गुरुङले सामूहिक अभियानका रुपमा रहेको सहकारीलाई व्यवस्थित तथा आर्थिक पारदर्शिताका लागि प्रत्येक शेयर सदस्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।
‘मर्यादित कामको लागि सहकारी’ नाराका साथ आयोजित उक्त तालीममा सहकारीका सञ्चालक समिति, सल्लाहकार, शिक्षा र महिला उप–समिति तथा लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो । संस्थाले यसअघि संस्थागत सामाजिक उत्तरदायित्वतर्फ पोखरा–१७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा आश्रित असहाय एवम मनोरोगीलाई रु १७ हजार सहयोग गरेको सहकारीका अध्यक्ष हरिप्रसाद बास्तोलाले बताए ।