२० असार, पर्सा । केबुल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो ।
सिग्नल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट सूचनाअनुसारका प्रमाण फेला परेपछि अनुसन्धानका लागि गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले छापामारीका क्रममा विभिन्न केवल टिभीका सेन्टो बक्स, रिचार्ज कार्ड, विभिन्न बैंकको कागजात, ल्यापटप बरामद भएपछि केबुलको प्रसारणलाई बन्द गरी कार्यालयमा शिलबन्दी गरिएको बताए । पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएकोे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धानपछि कुन मुद्दा चलाउन उपयुक्त हुने सोहीबमोजिम मुद्दा चलाइने प्रजिअ भट्टराईले जानकारी दिए ।
हाम्रो टिभीको आडमा भइरहेको सिग्नल बाइपासबाट महिनामा लाखौँ रुपैया राजश्व नेपाल सरकारले गुमाउनु परिरहेको प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छापामा जिल्ला प्रहरी कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकमगायतका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रासस