२० असार, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा नेपाली युवा टोलीले टस जितेर पहिले ब्याटिङ थालेको थियो । युवा टोलीले ५० ओभरमा ४ विकेट गुमाउदै ३२६ रन जोड्यो ।
नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का को मदतमा १ सय १५ रनमा अविजित रहे । कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहदा नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो ।
उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए। त्यसपछि ब्याटिङमा आएका खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले। विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए।
रितलाई अन्तिमसम्म साथ दिएका कुशल मल्लले आक्रामक ब्याटिङ गरे। बलिङमा सिंगापुरका प्रनव सुदर्शन र विनित महेताले २-२ विकेट हात पारे ।