१९ असार, काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो ।
ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त लौरी पोखराबाट प्रतिथान रु एक हजार २०० मा खरीद गरिएको हो । उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरुप गत वर्ष चरसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो ।
लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँड्डुलमा सहज हुने बताउनुभयो । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उहाँले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताउनुभयो । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महीनापछि भाँच्चिने र अर्को लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ । रासस