१९ असार, काठमाडौँ l कञ्चनपुरकी निवासी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारी र हत्याको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले अझै सम्म पत्ता लगाउन नसकेको अवस्थामा सत्तारुढ दलकै सांसदले उक्त घटना एउटा ‘अपवाद’ रहेको बताए ।
राष्ट्रियसभाको आज बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक एवं सांसद खिमलाल भट्टराईले निर्मला पन्तको नाम नलिइकन ‘कञ्चनपुर घटना’का रूपमा उक्त घटनालाई ‘अपवाद’का रूपमा प्रस्तुत गरेका छन् l
भट्टराईले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले बलियो बनाएको दाबी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रूपमा रहेको बताएका हुन् ।
भट्टराईले भने, ‘शान्ति सुरक्षाको क्षेत्रमा एउटा अपवाद घटना, हामी सबैलाई मन रुवाउने एउटा घटना, कञ्चनपुरको घटना, हामी सबैलाई दुःख लागेको छ, तर कारण छ, त्यसमा पनि । त्यसमा पनि कारण छ ।’ तर उनले त्यस्तो कारण के हो भन्नेबारे केही खुलाएनन् ।
सरकार भ्रष्टाचार अन्त्य गर्न केन्द्रित रहेको दाबी गर्दै भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी, विशिष्ट व्यक्तिहरू राजीनामा बोकेर भाग्नु परेको अवस्था आएको बताउँदै विवादित फैसलामा मुछिएका न्यायाधीशहरू बर्खास्त भएका उदाहरण पनि उनले दिएका छन् ।