१९ असार, बागलुङ – सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ मानवसेवाआश्रम बागलुङलाई प्रदान गरेको छ । बुधबार आयोजित पुरस्कार समारोहमा जिल्ला मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले आश्रमका संयोजक सुमिरा लामालाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरे ।
सहाराविहीन भई सडकमा पुगेका नागरिकलाई आश्रय दिएर उच्च मानवीय सेवा गरेवापत आश्रमलाई पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहणपछि बोल्दै आश्रमका संयोजक लामाले पुरस्कारले कार्य क्षेत्रमा सक्रिय हुन झ्न उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । “जिल्लामा स्थापित बनेको पुरस्कार आश्रमले पाएको छ, हामी उत्साहित छौँ” उनले भने, “आश्रम सञ्चालन र व्यवस्थापनमा यसबाट ठूलो सघाउ पुग्नेछ ।”
मुख्य न्यायाधीश पण्डितले विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्याउने व्यक्ति÷संस्थालाई पुरस्कृत गर्ने गरेकामा कोषको प्रशंसा गरे। कोषले हरेक दुई वर्षमा ‘सुङ्गा पुरस्कार’ र ‘सुगङ्गा सम्मान’ प्रदान गर्दै आएको छ ।
यो वर्ष ‘सगङ्गा सम्मान’ पनि आश्रमलाई नै प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । दिनदुःखी र बेसहाराको जीवनयापनमा थोरै भए पनि राहत मिलोस् भनेर आश्रमलाई पुरस्कृत तथा सम्मानित गरिएको उनको भनाइ छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् ।
मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहाराबिहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो ।
आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । बागलुङलाई सडक मानवमुक्त शहर बनाउने आश्रमको लक्ष्य छ । बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा विसं २०६५ मा कोष स्थापना गरेका थिए । समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कोषका संस्थापक÷संरक्षक खड्काले बताए ।