असार १८, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृहमन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद कालीबहादुर मल्लले ऐन/ नियमको, कार्यान्वयनमा समस्या आएको बताउँँदै समयमा बोलपत्र नहुने कार्यशैली परिवर्तन गर्नका लागि आवश्यक कानून तर्जुमा गर्नुपर्नेमा जोड दिए ।
सांसद रमेशजंग रायमाझीले बजेट आउनुभन्दा पहिले नै बजेटका बारेमा छलफल गरिनुपर्नेमा त्यस्तो हुन नसकेकाले यसमा परिवर्तन हुनु आवश्यक छ भने । तराई मधेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सम्बन्धित मन्त्रीले आफ्नै क्षेत्रमा पुर्याएकोे आरोप लगाउँदै सुन तस्करी, निर्मला पन्त हत्या र वाइडबडीजस्ता घटनाका दोषीलाई के गरियो ? भने । सांसद खेमराज नेपालीले उत्पीडित समुदायका अधिकार सम्बोधन गर्ने गरी बजेट आएको बताए ।
उनले यातायात कार्यविधि २०७४ मा व्यवस्था भएबमोजिम कुनै पनि सार्वजनिक यातायातमा गीत संगीत बजाएबापत राजस्व तिनुपर्ने व्यवस्था किन कार्यान्वयन गरिएन भनी प्रश्न गरे । सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भएको र यात्रुमैत्री यातायात सञ्चालन भएको अनुभव गर्न जनताले नपाएको पनि उनले बताए । रासस