१७ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरे ।
पूर्वसांसद मञ्च नेपालको १९ औ साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आईफाबारे बोलेका हुन् । उनले नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरू चिन्तित भएको आफुले पाएको बताए l उनले पर्यटन प्रवर्द्धन गर्न ध्यान पुर्याउन पर्ने तर, आफ्नो देशको साधन स्रोतलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्ने बताएका छन् ।
वरिष्ठ नेता नेपालले भने, ‘राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरू फस्टाउने, नेपालीहरूले दुःख पाउने विदेशीहरूले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरू धरासायी हुने विदेशीहरूका उद्योगहरू लहलहाउने स्थिति हुनुहुन्न ।’ नेता नेपालले निर्णय लिँदा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राख्नु पर्ने जोड दिए ।