१७ असार, काठमाडौँ l पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरे पनि त्यसले राम्रोसँग काम नगरेको बताउँदै पुँजी बजारलाई कडा निगरानी राख्ने पनि स्पष्ट पारेका छन् ।
आजबाट काठमाडौँमा सुरु भएको वित्तीय साक्षरता सम्बन्धी वृहत् अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै खतिवडाले नेपालमा पनि पूँजी बजारले राम्रोसँग कार्य नगरेका कारण नियमनकारी निकायलाई निगरानी गर्नु परेको प्रस्ट पारे ।
नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरूलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि अर्थमन्त्रीले जोड दिए । ५० लाखभन्दा बढी युवाहरूले वैदेशिक रोजगारीमा गएका कारण उनीहरूका परिवारका सदस्यले वित्तीय कारोबार गरेता पनि उनीहरूलाई सुरक्षित र भरपर्दो बैङ्क तथा वित्तीय संस्थाहरूको बारेमा समेत जानकारी नभएको उनको भनाई छ ।
अर्थमन्त्री खतिवडाले महिलाहरू पनि वित्तीय कारोबारमा संलग्ने हुने क्रम बृदी भएकाले उनीहरूलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिँदै बैङ्क तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।
नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । उक्त सम्मेलनमा भारत, चीन, अष्ट्रलिया, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, भुटानसहितका पूँजी बजारका विज्ञहरू, लगानीकर्ताहरू सहभागी भएका छन् ।