अनन्त्य सुन्दर
करिब १० वर्ष अघि मैले पहिलो पल्ट डीडी नेशनलमा अमिर खानको कोका कोलाको विज्ञापन हेरे । उक्त विज्ञापनमा “ठन्डा भनेकै कोका कोला” भनिएको थियो । आज १० वर्ष भयो मैले त्यो विज्ञापन हेरको, टिभीमा त्यो विज्ञापन दिन छोडेको पनि ५ वर्ष भन्दा बढी भयो । तर त्यो विज्ञापन मेरो मन र मस्तिष्कबाट हट्या छैन । आजको दिनमा पनि म पसलमा गएर कोक माग्नु पर्यो भने,“दिदी ठन्डा दिनु न भनेर माग्ने गरेको छु ।“ यो कथन वास्तवमा प्रतीकात्मक छ, आज मैले “चिसोको’’ ठाउँमा “ठन्डा” भन्ने गरेको छु, जुन ठुलो विडम्बनाको कुरा हो, बेला बखतमा जति प्रयास गरे पनि चिसो भन्न नआएकोमा दुख लाग्छ । सरकारले क्लिन फिड व्यवस्था ल्याएको खुसी लागेको छ, अब छिटो नै विदेशी विज्ञापनमा प्रतिबन्ध लगाउने छ र विदेशी च्यानलमा पनि नेपाली विज्ञापन प्रसारण हुनेछन् । सायद अब कुनै बच्चाले “चिसो” को ठाउँमा “ठन्डा” भन्ने छैन ।
सरकारले विज्ञापन विधेयक २०७६ दर्ता गरी क्लिन फिड लागु गर्न खोजेको हो । विभिन्न काल खण्डमा क्लिन फिड (जुलाई २०१६ मा पनि ल्याएको थियो) व्यवस्था ल्याइए पनि, चौतर्फी विरोधका कारण यो व्यवस्था लागु हुन सकेको थिएन । तर, यसपालि विरोध भए पनि सरकार यो व्यवस्था लागु गर्न अघि बढेको छ । क्लिन फिडको मूल एजेन्डा विदेशी च्यानलमा विदेशी विज्ञापन र नेपाली च्यानलमा विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न प्रतिबन्ध हो । नेपाली जन-मानसमा विदेशी च्यानल विशेष गरी भारतीय खेलकुद, कार्टुन, टेली-श्रृंखला र गीत सङ्गीत निकै लोकप्रिय छ । तथ्याङ्क अनुसार नेपालमा १५० विदेशी च्यानलले प्रसारण गर्न अनुमति लिएका छन्, यी च्यानलमा विदेशी नै विज्ञापन प्रसारण हुन्छन् । विश्वको विभिन्न मुलुक भारत, बङ्गलादेश, अमेरिका लगायत अन्य युरोपियन मुलुकमा यो व्यवस्था लागु गरिएको छ । विदेशी विज्ञापनहरू निकै रोमान्चक र भावनात्मक हुन्छन्, जसले बालबालिका देखी वृद्ध र सबैको ध्यान केन्द्रित गराउँछ । जब विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन्छ, त्यसले छोटो समयमा कुनै क्षति नपुर्याए पनि लामो समयमा ठुलो क्षति पुराउँछ । स्थानीय भाषा, सृजना र संस्कृति बिर्सिनुमा विदेशी च्यानल र विदेशी विज्ञापनको ठुलो भूमिका रहेको देखिन्छ । विशेषगरी बाल बच्चाले भारतीय भाषा प्रयोग गर्ने गरेका छन्, जुन प्रत्यक्ष उदाहरण हो ।
क्लिन फिड व्यवस्थाको अनुसार, नेपालमा जति पनि विदेशी च्यानल प्रसारण हुन्छन् उक्त च्यानलमा नेपाली विज्ञापन हुनु पर्ने हुन्छ । विज्ञापन नेपाली भाषा र सामाजिक संस्कृति अनुकूल हुन्छन् जसले गर्दा नेपाली संस्कृति, परम्परा र भाषा जोगाउन ठुलो टेवा पुग्ने छ । नेपाली विज्ञापन प्रसारण भएको खण्डमा, राष्ट्रिय मिडिया, कलाकार र श्रोतको उचित प्रयोग हुन्छ, जसले गर्दा रोजगारको अवसर साथै राजश्व पनि उत्पन्न हुन्छ । सञ्चार मन्त्री गोकुल बास्तोलाको अनुसार बजारको आकार १२ अर्ब जतिको छ र क्लिन फिड लागु भएमा २ अर्ब वृद्धि हुने अनुमान छ । यसले प्रतिस्पर्धा र लगानीको अवसर सृजना गर्छ ।
नेपाल केबल सञ्चालक साथै भारतीय प्रसारण सङ्घले यसको विरोध गरेका छन् । नेपाली बजार सानो भएको आशंकाले विदेशी विज्ञापनदाता लगानी गर्न इच्छुक छैनन् । क्लिन फिड लागु भएमा ग्राहकले महँगी झेल्नु पर्ने हुन्छ । आम-जनमानसलाई टिभी हेर्न महँगो हुने भएकाले नेपाल केबल सञ्चालकलाई व्यवसायबाट बाहिरिनु पर्ने डर छ, त्यसैले उनीहरू सरकारलाई चौतर्फी दबाब दिइरहेका छन् । तर क्लिन फिडले ल्याउने समस्या भन्दा अवसर सिर्जना गर्ने साथै राजश्वको उत्पादनमा वृद्धि हुने देखिन्छ ।
भोलिको दिनमा कुनै विदेशी च्यानलमा गाईको मासुको बर्गरको विज्ञापन नआउला भन्न सकिन्न, त्यस बखत हाम्रा बाल बच्चाले “गाईको मासुको बर्गर खाने भनेर जिद्दी गरे भने के भन्ने ?” सोच्ने बेला आएको छ ।