१६ असार, काठमाडौँ l नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । आज निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सबै निजी विमान कम्पनीहरू मुनाफामा जाने तर सरकारी विमान कम्पनी मात्रै निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे l
प्रधानमन्त्री ओलीले भने, “वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ? यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन । ” व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेस गर्नुपर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्रीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नुपर्ने बताउँदै आकाशमा उड्ने निगमका जहाज सधैँ विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने उनको भनाइ छ ।
केही समय अघिको प्रसङ्ग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “एक पटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधेँ,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि l तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ”
प्रधानमन्त्रीले निगमका निर्णयहरू हचुँवाका भरमा हुने गरेको बताए l उनले भने, “गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ l यस प्रकारका निर्णयले निगम धरासायी हुँदै गएको हो । “