१६ असार, काठमाडौँ l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मर्यादामा बस्न रक्षामन्त्री ईश्वर पोखरेलले चेतावनी दिए ।
अध्यक्ष प्रचण्डले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताउँदै आएका छन् । जसलाई प्रधानमन्त्री ओलीले समेत स्वीकार गरेका छन् ।
यद्यपि पोखरेलले भने आफूहरूलाई त्यसबारे थाहै नभएको जिकिर गरे । मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘आलोपालो सरकार चलाउने सहमतिबारे कमिटीलाई जानकारी छैन l त्यसबारे बाहिर अनावश्यक मार्केटिङ गर्न जरुरी छैन ।’
उनले सहमति गरेको भएता पनि सीमा र मर्यादामा बस्न अध्यक्ष प्रचण्डलाई सुझाव दिँदै सुहाउँदो व्यवहार गर्न पनि भने । उनले जनताको बहुदलीय जनवाद छाड्न आफूहरू तयार नरहेको बताएका छन् ।
दुई अध्यक्ष केपी ओली र दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएता पनि यस सम्बन्धित पार्टीलाई जानकारी नभएको पोखरेलले बताए ।