Logo

एमाले र माओवादी नारिएर काम हुँदैन : भट्टराई



Spread the love

१६ असार, गोरखा । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन एमाले र माओवादीको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताउँदै विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरेका छन् ।

आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेका भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने, ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन l एमाले पछाडि फर्कन खोज्ने शक्ति तर माओवादी अगाडि बढ्न खोज्ने । यी दुवै नारिएर काम हुँदैन ।’

सरकारको काम उत्साहजनक नभएको भट्टराईले सरकारको आलोचना पनि गरे । ‘सरकारको कामलाई लिएर सत्तापक्ष नै सन्तुष्ट छैनन्’ भट्टराईले भने ।

केही समयअघि मात्रै आफू नेतृत्वको नयाँ शक्तिलाई सङ्घीय समाजवादी फोरमसँग एकता गराएका भट्टराईले पुराना शक्तिसँग कुनै पनि हालतमा एकता नहुने बताए ।

उनले भने, ‘काँग्रेस र तत्कालीन एमाले पुरानै दिशा र प्रणालीमा चलिरहेका पार्टी हुन्, सङ्घीयता, समावेशिता र गणतन्त्र उहाँहरूको एजेन्डा होइन l माओवादी जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलनको बलमा उहाँहरू तानिएर आउनुभएको हो, दुर्भाग्यवश प्रचण्डको नेतृत्वमा माओवादी एमालेमा मिसिन पुग्यो, अहिले संयोगले नेतृत्व उहाहरुको हातमा पुगेको छ, यसले ठुलो समस्या हुने म देख्छु ।’

भट्टराईले काँग्रेस र कम्युनिष्टको बिकल्पको रूपमा समाजवादी पार्टी बनाएको भन्दै ०५२ पछिका अन्य शक्तिहरूसँग ध्र्रवीकरणको प्रयास हुने स्पष्ट पारेका छन् ।

विप्लव नेतृत्वको सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको प्रसङ्गलाई कोट्याउँदै उनले झुटो मुठभेडको नाममा सरकारले मान्छे मार्ने दुष्प्रयास गरिरहेको आरोप लगाए ।

विप्लव समस्याबारे बोल्दै भट्टराईले भने, ‘यस्तो गर्नु गलत हो, राजनीतिक ढङ्गबाटै विप्लव समस्या समाधान गर्नुपर्छ l ‘

प्रतिक्रिया दिनुहोस्