१५ असार, काठमाडौँ l उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनबारे आफूलाई केही थाहा नभएको बताए ।
दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि सुर्खेत पुगेका मन्त्री यादवले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री परिवर्तनको कुरा आफूलाई थाहा नभएको बताएका हुन् ।
पछिल्लो समय मन्त्री परिवर्तनको हल्लाबारे मन्त्री यादवले भने, ‘को मन्त्री परिवर्तन हुने हो त्यो हामीलाई थाहा हुने कुरा होइन, त्यो प्रधानमन्त्रीलाई थाहा हुने हो, मलाई त्यो विषयमा केही थाहा छैन।’
मन्त्री यादवले दैलेखको पेट्रोलियम पदार्थको बारेमा चिनियाँ टोलीसहित अन्वेषण गर्ने बताएका छन् l कहिलेबाट काम सुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको भन्दै उनले अन्वेषणपछि उत्खनन कहिले देखी गर्ने भन्ने टुङ्ग लगाउने बताए l
मन्त्री यादवले भने, ‘हामी अन्वेषणमा दैलेख जाँदै छौँ, रिपोर्ट के आउँछ, सोहीअनुसार काम अगाडि बढाइन्छ l काम छिट्टै हुन्छ, पहिले जस्तो ढिला हुँदैन।’
अर्को एक प्रसङ्गमा सुर्खेतको चौकुने सिमेन्ट कारखाना पनि छिट्टै सञ्चालन हुने बताए। ‘केही व्यावहारिक समस्या छन्, त्यसलाई निराकरण गर्दै काम अघि बढाइन्छ।’ मन्त्री यादवले भने l