१५ असार, नेपालगञ्ज l प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानीसम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।
महाशाखाका धनप्रसाद पौडेलले वर्षात्का बेलामा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताए ।
उनका अनुसार पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न चार वटा पारामिटर परीक्षण गर्न सकिनेछ । सो कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका डा सुदनराज पन्थी, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजी निरीक्षक भोला अधिकारीलगायतले अनुशिक्षण गरेको थियो ।
बाँकेको खजुरामा झण्डै ९७ प्रतिशत साक्षर
बाँकेको खजुरा गाउँपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेका छन् । कूल ३८ हजार ९०१ जनसङ्ख्या रहेको सो गाउँपालिकामा सो उमेर समूहका ३७ हजार ८१६ जना साक्षर रहेको अध्यक्ष किस्मतकुमार कक्षपतीले बताए ।
उनका अनुसार साक्षर घोषणा भइसकेको उक्त गाउँपालिकालाई पूर्ण साक्षर बनाउन अभियान सञ्चालन गर्न योजना बनाइएको छ । सो गाउँपालिकामा हाल ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय तथा सामुदायिक क्याम्पस एक÷एक, निजी क्याम्पस दुई र प्राविधिक नमूना विद्यालय सञ्चालन भइरहेका छन् ।
अध्यक्ष कक्षपतिका अनुसार करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा गाउँपालिका क्षेत्रलाई शैक्षिक केन्द्रका रुपमा समेत अगाडि बढाउन थालिएको छ । सो गाउँपालिका–३ बीगाउँमा शनिबार वृक्षरोपण गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, गाउँपालिका अध्यक्ष कक्षपति, उपप्रमुख एकमाया विकलगायतको वृक्षरोपणमा सहभागिता थियो । (रासस)