१४ असार, जुम्ला – जुम्लाका चार वटा स्थानीय तहमा रहेका समूह, सहकारी र उद्यमीलाई खेत जोत्न प्रयोग हुने आधुनिक प्रविधिको हाते ट्र्याक्टर अर्थात् (मिनी पावर ट्रिलर) वितरण गरिएको छ । तालीमसहित किसानले सो ट्रिलर पाएका हुन् । उक्त ट्रिलर प्रयोग गर्ने तरिका किसानलाई सिकाइएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति जुम्ला र कृषि ज्ञान केन्द्र जुम्लाबाट ट्रिलर पाएका किसानलाई समेत यसका बारेमा आवश्यक ज्ञान सुपरजोनले दिएको छ । जुम्लाका २७ जना किसानले ट्रिलर प्रयोगका बारेमा राम्रोसँग जानकारी पाएका छन् । चालू आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा सो ट्रिलर दिइएको स्याउ सुपरजोन जुम्लाका प्रमुख टीकाराम शर्माले बताए ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर प्रदान गरिएको उनको भनाइ छ । उनले भने, “किसानलाई ट्र्याक्टर दिएका छौँ, यसले कम समय लाग्ने र खर्च पनि कम हुनेछ ।” परम्परागतरुपमा खेती गर्दा आम्दानीभन्दा लागत बढी पर्न गएको बताउँदै उनले कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्ने र मुनाफा बढ्ने बताए ।
ट्र्याक्टरले खेत जोत्दा झार काट्न र पानी तान्न मिल्ने बहुउपयोगी उपकरण वितरण गरिएको शर्माको भनाइ छ । चन्दननाथ नगरपालिका, गुठीचौर, तातोपानी र पातारासी गाउँपालिका भित्रका १७ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको शर्माले बताए । दुई वटा समूहले दुई÷दुई वटा ट्रिलर पाएका छन् भने अन्यले एक÷एक वटा पाएको उनको भनाइ छ । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको कार्यालय प्रमुख शर्माको भनाइ थियो ।
तातोपानीका पदम रावतका अनुसार गाउँमा काम गर्ने मान्छे खोज्दा नपाइने भएकाले यस्ता यन्त्रले खेती गर्न सहज हुने बताए । गोरु पाल्न छोडेको बताउँदै उनले खेतीलाई सरल र सहज बनाउन यसबाट सहयोग हुने बताए। चन्दननाथ नगरपालिका– ८ का वीर्षबहादुर धरालाले कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्न सहज हुने जानकारी गराए ।
जुम्लामा पछिल्लो समय हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झण्झटले कृषक आधुनिक मिनी पावर ट्रिलरतर्फ आकर्षित हुँदै गएका हुन् ।