१४ असार, सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले दलित, महिला र विपन्न वर्गको उत्थानका लागि बजेटले जोड दिएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेशसभामा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले सामाजिक र आर्थिक हिसाबले पछाडि पारिएका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । उनले विपन्न परिवारका लागि खाना, नाना र छानाको कार्यक्रम ल्याएको प्रष्ट पारे ।
“पूर्वाधार विकाससँगै रोजगारी र उत्पादनका कार्यक्रमले कर्णालीवासीको जीवनस्तर उकास्न मद्दत पुग्नेछ”, उनले भने “मुख्यमन्त्री दलित तथा महिला स्वरोजगार, छुवाछूतमुक्त प्रदेश घोषणा, छोरी जन्म बचत खाता कार्यक्रम यसैका उदाहरण हुन् ।” मन्त्री ज्वालाले आगामी वर्ष थप कार्यालय स्थापना र कर्मचारी व्यवस्थापन गर्न लागिएकाले चालू खर्च बढी प्रस्ताव गरेको जानकारी दिए ।
कर्मचारीका साथै सामाजिक सुरक्षा आयआर्जन र रोजगारीसँग सम्बन्धित कार्यक्रम चालू बजेटमै समावेश गरिएकाले चालू खर्च बढी देखिएको उनले प्रष्ट पारे । मन्त्री ज्वालाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर कूल बजेटको ६० प्रतिशत अर्थात् रु २० अर्ब विनियोजन गरिएको बताए । तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले चालूतर्फ बढी र पूँजीगत खर्चलाई कम प्राथमिकता दिएको भन्दै सरकारको आलोचना गरेका थिए । सङ्घीय र अन्य प्रदेशका बजेटको तुलनामा कर्णाली सरकारले चालूतर्फ निकै कम बजेट विनियोजन गरेको उनिहरुको आरोप थियो ।
आर्थिक मामिलामन्त्री ज्वालाले छोरी जन्म बचत खाता कार्यक्रम सामाजिक न्याय र बालविवाह न्यूनीकरणसँग जोडिएको सवाल भएको बताउनुभयो । उहाँले आगामी आवका लागि असार १ गते रु ३४ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरे । यसअघि प्रदेशसभामा बोल्ने प्रदेशसभा सदस्यले पूँजीगत खर्च बढाउन र सन्तुलित विकासको योजना सञ्चालन गर्न माग गरेका थिए । बजेटमाथिको शुक्रबारको छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गुलाबजङ्ग शाह, दिनबन्धु श्रेष्ठ, चन्द्रबहादुर शाही, करवीर शाही, सुशीलकुमार थापा, पद्मीकुमारी बोहरा र मिनासिंह रखालले भाग लिएका थिए । प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेशसभा नियमावली दोस्रो संशोधनका लागि समिति गठनसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । तीन सदस्यीय समितिमा प्रदेशसभा सदस्यहरु दिनबन्धु श्रेष्ठ, देवी ओली र धर्मराज रेग्मी रहेका छन् ।