Logo

पाँच वर्षदेखि रोकिएको राहुघाट निर्माण सञ्चालन



Spread the love

१३ असार, म्याग्दी ।
ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो । पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम यसै हप्तादेखि सञ्चालन भएको जानकारी दिए ।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा सकिनुपर्ने थियो । विसं २०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ ।

ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण शुरु गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक केसीले कार्यतालीका बनाएर कामलाई तीव्रता दिने बताए । विसं २०७४ मङ्सिर ५ मा रु छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एशोसिएट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो । कम्पनीका सहायक निर्देशक गोपाल पाठकले पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तीलगायतका पूर्व तयारी गरेको बताए । घुमाउनेतालदेखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगेको जानकारी दिए ।

बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ । निर्माण सामग्रीको आपूर्तिका लागि चमेरेमा क्रसर र पिप्लेमा बेचिङ प्लान्ट बनाएको छ । विद्युत् गृह निर्माण हुने तिल्नेनीको अडिट नं ४ बाट पनि छिट्टै सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इञ्जिनीयर आरके श्रीवास्तवले बताए । भौगोलिक विकटता, मौसमी प्रतिकूलता र पहिरोको समस्याले अँधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खापछि शुरु गरिने उनले बताएकोछ ।

आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ । पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ । इलेक्ट्री मेकानिकल ठेक्काका लागि परेका तीन प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि ऋण लगानीकर्ता एक्जिम बैंकलाई पठाइएको छ । वित्तीय प्रस्ताव खोलेर मूल्याङ्कनको क्रममा रहेको उपनिर्देशक पवन बस्नेतले बताए ।

इञ्जिनीयरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा निर्माण हुन लागेको आयोजनाले गत चैत १८ गते प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरेको थियो । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु आठ अर्ब ५९ करोड अनुमान गरिएको छ ।

अर्ध जलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । रघुगङ्गालगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रसारण लाइनका साथै राहुघाटमा सवस्टेशन बनाउन जग्गा अधिग्रहण गरिएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्