१३ असार, बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिकाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ क्विन्टल जडीबुटी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कोल्टी तथा त्यहाँको इलाका वन कार्यालयका कर्मचारीको संयुक्त टोलीले बिहीबार उक्त जडीबुटी बरामद गरेको हो ।
तस्करीमा संलग्न ठेकेदार र भरियालाई समेत नियन्त्रणमा लिएको छ । जडीबुटीको सङ्कलन पूर्जी नलिइ गोदाममा जम्मा गरिरहेका अवस्थामा बूढीनन्दा–४ कुरुबाट प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतोचिनि, एक बोरा सुगन्धवाल, एक बोरा कटुकीलगायत १४ क्विन्टल ४३६ किलो जडीबुटी बरामद गरेको पादुका सव–डिभिजन वन कार्यालयका वन रक्षक जयलाल विकले बताए । नेपालगञ्ज उप–महानगरपालिका–२ का ४५ वर्षीय गगन राना तथा ४२ वर्षीय नारद गिरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक शेरबहादुर कुँवरले बताए ।
प्रहरीले १२ भरियालाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याई छानविन थालेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । उनीहरु विरुद्ध वन ऐनअनुसार कारवाहीका लागि अदालतमा मुद्दा चलाइने जिल्ला वन अधिकृत भीमप्रसाद कँडेलले बताए ।