भेषराज बुढाथोकी
कहिलेकाहीँ जीन्दगीमा नसोचेको भैदिन्छ । जीन्दगी नामको यो यात्रामा कहिलेकाहीँ यस्ता अप्ठ्यारा भिरहरू पनि आउँदा रहेछन् । यो यात्राका हरेक घुम्ति र मोडहरू उत्तिकै जटिल छन् । म ठ्याक्कै अहिले यस्तै एक अप्ठ्यारो घुम्तिमा छु । सोँच्न पनि सकेको थिइनँ, हजुरबाले यति छिट्टै छोडेर जालान् भनेर तर मृत्यु नै अन्तिम सत्य हो, स्वीकार्नै पर्छ । तपाई हामी सबैले त्यही बाटो भएर जानुछ तर कुरा ढिलो चाँडोको मात्रै हो । हामीले कुनै अर्को व्यक्तिलाई ऊ पिरमा परेको बेला सहानुभुति दिन त सजिलो रहेछ तर आफुले स्वीकार्न गाह्रो हुँदो रहेछ ।
हजुरबासँगका केही संस्मरणहरू आज झल्झली आँखै अगाडि नाँचिरहेका छन् ।
“तँ खाएर गर्छस् कि गरेर खान्छस् ?
गाई ठूलो कि भैँसी ?
तँ जुन बाटो आईस् त्यही बाटो फर्किन सक्छस् ?”
म सानो फुच्चे हुँदा हजुरबाले मलाई बारम्बार सोध्ने प्रश्नहरू हुन् यी । जति बेला म बाजेको बुढी औंला समातेर हिँड्थे, म भन्थें क्रमश- खाएर गर्छु, भैँसी ठूलो, उम सकिहाल्छु नि । तर मैँले यति भन्न नपाउँदै उहाँले एउटा पनि उत्तर नमिलेको ईशारा गर्नुहुन्थ्यो ! अनि मैँले सोध्थेँ,”भन्नुस न बड्डाउ सही उत्तर !” उहाँ भन्नुहुन्थ्यो,”कहिल्यै पनि छोराले गरेर खान्छ । गाई, भैँसी भन्दा ठूलो हो । कुनै पनि व्यक्ति आफु धर्तीमा आएको बाटोमा फेरि फर्किन सक्दैन ।” म नाजवाफ हुन्थेँ ।
मलाई मेरो हजुरबा र हजुरआमा मेरो जन्म दिने आमा-बा भन्दा बढी प्रीय लाग्छन् । किनकी म र मेरो बहिनीको जन्मान्तर निकै कम छ । बहिनी जन्मिसकेपछि मेरो पालन पोषण, लवाई-खुवाई सब जिम्मेवारी बाजे-बज्यैको काँधमा आयो । म आज जहाँ छु, मेरो बाजे-बज्यै बिना अधुरो छु । पाँच/छ कक्षा पढ्ने बेलादेखि नै मलाई हजुरबाले हलो जोत्न सिकाउनु भयो । म किसानको छोरा त होईन किनकी मेरा बुबा शिक्षक हुनुहुन्छ । मैँले बिस्तारै किसानले गर्ने कामहरू सबै सिकेँ हजुरबाबाट । किनकी त्यतिञ्जेल मेरा हजुरबालाई लगभग बुढेसकालले छोईसकेको थियो । म उहाँको बुढेसकालको बलियो लट्ठी हुन चाहन्थेँ तर बिडम्बना यो लट्ठीको सहारा नलिई उहाँ परलोक हुनुभयो । म आज घरि-घरि सम्झिन्छु, गाउँमा कोही कसैको बिहेभोज र अन्य पुजापाठ हुँदा प्रसाद र मिठाई सुरूमा मै कहाँ पुग्थ्यो । खल्तिमा लुकाएर मेरै लागि ल्याएको प्रसाद सानो नै किन नहोस्, म अघाउँथे । मीठो नभए पनि मीठो लाग्थ्यो किनकी त्यसमा मेरा हजुरबाको आत्मीयता, माया, स्नेह र प्रेम मिसिएको हुन्थ्यो ।
म दुर्गमको मान्छे । दुई छाक टार्न पनि धौ-धौ हुने समाजको मान्छे । मेरो गाउँका मान्छेहरू ६ महिना गाउँमा काम गर्ने अनि ६ महिना भारत जाने, गुजाराको लागि । प्रायः चैतमा फर्कने अनि कार्तिकमा जाने । मेरा बुबालाई पढाएर शिक्षक बनाउने सब खर्च पनि मेरो हजुरबाले भारत गएरै टार्नुभयो । अनि केही त बुबाले स्वयम भारी बोकेर पनि खर्च चलाउनुभयो । बेला-बेला भन्नुहुन्थ्यो- छोरा पढाउन मैँले टाउकाका रौँ गुमाएँ, भारी बोकेर । छोरा पढाउनुको अप्ठ्यारो सायद मेरा बुबाले पनि अहिले भोगीरहनुभा’छ । उहाँलाई पनि सायद त्यस्तै लाग्दो हो । दुःख, पिर, अभाव र सङ्कटको बाढी मिसिएको नदिको एक मात्रै पुल हो, बुबा । जसले सजिलै त्यो नदि पार गर्दिन्छ । मेरा लागि त्यो पुल बुबा-हजुरबा दुबै हुन् । जसरी ढुङ्गाको काप फोडेर पिपल उम्रन्छ, हो त्यसैगरी अभाव, पिडा, दुख र सङ्कटको काप फोडेर म उम्रिने प्रयासमा छु ।
मलाई बेला-बेला हजुरबा भन्नुहुन्थ्यो,”तैँले धेरै भैँसी खाईसकिस्, तेरो जति भैँसी त परिवारमा कसैले खाएकै छैन ।”
भैँसी चराउन जंगल जाँदा, माथि नौला वन घाँस काट्न जाँदा, भिरको घाँस काट्दा, खेतको आली बनाउँदा म जहिल्यै हजुरबा सँगै गएँ । पढाईमा म धेरै अब्बल त होईन तर त्यति कमजोर चाँही थिइनँ । पढाई सकेर सरकारी जागिर खानुपर्छ भनेर सपना देखाउनुहुन्थ्यो उहाँ । अहिले मसँग त्यो सपना ज्युँदै छ तर मेरा हजुरबा हुनुहुन्न । मेरो खुशी टाल्दा-टाल्दा फाटेका मेरा बाजेका पैतलाहरू मैँले टाल्न नसक्नु, मेरो एकदम कमजोरी रह्यो । हजुरबाका गालामा चाउरी परे पनि मैँले हजुरबाबाट पाउने मायामा कहिल्यै चाउरी परेन। मलाई गर्ने प्रेममा कहिल्यै बादलका ढिस्काहरू देखा परेनन् बरू सधैँ सुनौंला किरणहरूले मेरो चेहरामा ईन्द्रेणी ल्याईदिन्थे । मेरो खुशीमा बुट्टा भरिदिन्थे, मेरा हजुरबा । मलाई दुख्ने घाउमा मलम लगाउने एकमात्र सहारा थिए, मेरा हजुरबा । मलाई यस्तो पनि आभास हुन्थ्यो कि कहिलेकाहीँ बिरामी पर्दा, ज्वरो आउँदा मेरा बाजे बज्यैले छोईदिए भने मात्रै पनि सञ्चो हुन्छ ।
अस्ति बिदामा घर जाँदा बज्यैले खुट्टा मुसारिदिनुभयो, हात मुसारिदिनुभयो । मलाई लाग्यो म घर हैन स्वर्गमा छुँ, त्यतिञ्जेल मेरा हजुरबा म संगै हुनुहुन्थ्यो तर अब घर जाँदा म संग मेरा हजुरबा हुनुहुन्न । मलाई लाग्थ्यो म नै संसारको भाग्यमानी हु । यसकारण कि, म संग बुबा, आमा, बाजे, बज्यै, भाई, बहिनी सब छन् तर पनि कहिलेकाहीँ दाई दिदिको अभाव महसुस हुन्थ्यो । किनकी म बुबा आमाको जेठो सन्तान हुँ । अब भने म भाग्यमानी रहिनँ । किन्तु अब मसँग मेरा हजुरबाको भौतिक शरिर छैन । छन् त केवल सम्झनाका तस्बिरहरू, मायाका गहिरा नदिहरू, तृष्णाका तिरहरू अनि रोईरहेको हृदय । म चाहन्छु, अन्तिम समयमा हजुरबालाई भेट्न र देख्न पाईएको भए हुन्थ्यो तर पाईएन । यी खुट्टाहरू बैगुनी हुन्, जसले मलाई हजुरबाको मलामी जानबाट रोके । यी दुई चिजभन्दा ठुलो शत्रु मेरो जीन्दगीमा सायदै होलान् । घरको छत गुमाउनुको पिडा एउटा कोठालाई थेग्न कति गाह्रो हुँदो रहेछ । त्यो कुरा यी अक्षरमा म बर्णन गर्न सक्दिनँ । जति गरे पनि कमै हुन्छ । एउटा फूलको मालाबाट एउटा सिङ्गो फूल निकालिँदा त्यो मालाको सौन्दर्य पहिलेको जस्तै रहन कदापी सक्दैन । अहिले ठ्याक्कै त्यही एउटा सिङ्गो फूल निकालिएको मालाको अवस्थामा छ- मेरो घर ।
मलाई बच्चै देखि मेरा बाजे बज्यैले दुध मात्रै खुवाउन लगाउनुभयो । म अहिले पनि दही, मही खाँदिनँ । दुध मात्रै खान्छु । पञ्चामृत पनि खाँदिनँ किनकी त्यसमा दही मिसाइएको हुन्छ । मलाई बेला-बेला हजुरबा भन्नुहुन्थ्यो,”तैँले धेरै भैँसी खाईसकिस्, तेरो जति भैँसी त परिवारमा कसैले खाएकै छैन ।” मेरो गाउँमा प्रचलित एउटा उखान छ,“गोठाला बस्ने ठाउँ, कुकुर नबसाऊ, गोठालाले खाने राजा नखाऊ !” मतलब गोठालाहरू गोठमै बस्ने भएकाले बस्ने ठाउँ फोहोर हुन्छ । त्यस्तो ठाउँमा कुकुर पनि नबसोस् तर गोठालाको जस्तो खाना राजाले पनि सायद खाँदैन । गोठाले त्यस्तो मिठो-मिठो खान पाउँछ । यही मिठो-मिठो खान पाउने लोभले पनि म बिदा भयो कि बाजे बज्यै सँग गईहाल्थें । बाजेसँग गोठालो जाँदाको थुप्रै अनुभवहरू मसँग छन् । अहिले पनि मैँले उहाँलाई सम्झिँदा ती दिनहरू ताजा भएर आउँछन् । सम्झिँदा पनि शरिरमा काँडा फूल्छन् ।
सबैको आशिर्वादलाई हृदयको कुनामा गलैँचा ओछ्याएर सम्हालेर राखेको छु । मेरा हजुरबाको आशिर्वाद पनि त्यतै-कतै कुनामा छ । याद आएको बखत त्यो आशिर्वादका प्रत्येक पानाहरू पल्टाउँनेछु । कुनै एक पानामा त मेरा हजुरबाको ज्यूँदो चित्र पनि त होला नि ?
एक दिन गोठालो जाँदा निगाला पनि ल्याउने भन्ने सल्लाह भयो म र बाजे बिच । तदनुसार हामी जंगलमा गोठालो गयौँ अनि निगाला काट्न थाल्यौँ । हाम्रो जंगलमा एक किसिमको जडिबुटी पाईन्छ । जसलाई हाम्रो स्थानिय भाषामा “गदाल्नु” भन्छन् । यो जडिबुटी (गदाल्नु) रुघाखोकीको उपचारमा बहुत काम लाग्छ । मेरो जस्तो सिटामोल समेत नपाउने दुर्गम गाउँमा यो “गदाल्नु” नै रूघाखोकीको डाक्टर पनि हो, औषधी पनि हो । मलाई त्यो जडिबुटी बाजेले चिनाउनुभयो र म त्यो खोज्न थालेँ । त्यो जडिबुटीको जरा काम लाग्ने हुनाले त्यसलाई खनेर निकाल्नुपर्थ्यो । यसरी त्यो जडिबुटी खोज्दाखोज्दै म त निकै टाढा अनकन्टार पुगेछु । मलाई आफैलाई थाहा नभएको ठाउँ पुगेछु । निगालोको बाक्लो झोत, त्यसैमा म हजुरबाबाट अघि नै छुट्टिसकेको थिएँ । मैँले त्यो बेला मृग कराएको आवाज सुनेँ । म निकै डराएको थिएँ । बिचरा ! बच्चै थिएँ । मृग कराएको आवाज पनि बाघ कराएको आवाज जस्तै लाग्यो त्यो बेला । त्यसपछि म निकै डराएर जता-जताबाट आएको थिएँ, त्यतै-त्यतै हुँदै फर्किएँ । हजुरबालाई बल्ल भेट्टाएँ । उता बाजेलाई नपरेको पिर परेछ । म हरायो भन्ने उहाँलाई लागेछ । मैँले म हराएको होईन भनेर उहाँको कुरा नकारे । यसरी म त्यो दिन हराएँ तर फेरि भेटिएको थिएँ तर आज मेरा हजुरबा संसारबाटै हराउनु भयो । म चाहन्छु मेरा हराएका हजुरबा फेरि भेट्टिउन्, मैँले भेट्न पाउँ । कि त यो समयले मेरा पखेटा पलाएर मेरा बाजे भएको ठाउँ पुर्याईदेओस् ।
अस्ति दुई हप्ता अगाडी घर गएको थिएँ । घर पुग्ने बेला सबभन्दा सुरूमै बाजेलाई ढोगें र फर्किँदा पनि उहाँलाई नै । मेरो भविष्यमाथि उहाँको चिन्ता नारायणी नदि जत्तिकै गहिरो र कोशी जत्तिकै ठूलो थियो । मलाई भन्नुभयो,”मुल सोधेर पानी खानू, कुल सोधेर बिहे गर्नू !” बिहे गर्दा बिशेष ध्यान पुर्याओस् र सकेसम्म ढिलै बिहे गरोस् भन्ने उहाँको भित्री चाहना रहेछ, मैँले बुझेँ । छिटो बिहे गर्दा आईपर्ने समस्याका बारेमा उहाँलाई राम्रो जानकारी थियो किनकी मेरा बुबा आमाले छिटै बिहे गर्नुभा’ हो । राम्रो डाक्टर भएर बिरामीहरूको राम्रो उपचार गरोस् भन्ने उहाँको सपना थियो । यो सपना आज मसँग ज्युँदै छ तर मेरा हजुराबा आज मसँग ज्युँदो हुनुहुन्न । अब मेरो यो मुर्छित सपना मैँले हजुरबालाई बिपनामा देखाउन नमिल्ने भयो । भारतका एक पूर्व-राष्ट्रपतिले भनेका थिए,”सपना ती होईनन् जुन निदाउँदा देखिन्छन्, सपना ती हुन् जसले निदाउँनै दिदैनन् ।” म आजभोली निदाउनै नसक्ने सपना देख्न थालेको छु । हेरौँ कति दिन सम्म मलाई ती सपनाले निदाउँन दिने छैनन् ।
घरबाट यता फर्किने बेला बस चढ्ने ठाउँसम्म आउनुभाको थियो- हजुरबा । उहीँ ऊनको टोपी, कालो ज्याकेट अनि कालो सुरूवालमा । घरबाट निस्किदाँ सधैँ खुशी भएर निस्कन्थे म । तर यो पटक किन-किन मन खुशी थिएन, म भित्र केही समस्या थिएँ । बिदेशमा बस्दा धेरथोर दुःख त सहनै पर्छ । हजुरआमाका आँखा रसाएर आँशु गाला हुँदै घाँटीसम्म खसेको दृश्यले मलाई झन् भावुक बनाएको थियो । हजुरबाका चाउरी परेका गालामा म मेरो अनुहार खोज्दै थिएँ, गाडी छुटिहाल्यो र सबैलाई हात हल्लाएर बिदाई गरेँ । आमा, बुबा, बाजे, बज्यै सबैको आशिर्वाद बटुलें तर मेरा हजुरबाको त्यो आशिर्वाद नै अन्तिम हुन पुग्यो । लाग्न त लाग्छ नि, अझैँ हजुरबाको आशिर्वाद पाइरहूँ । सबैको आशिर्वादलाई हृदयको कुनामा गलैँचा ओछ्याएर सम्हालेर राखेको छु । मेरा हजुरबाको आशिर्वाद पनि त्यतै-कतै कुनामा छ । याद आएको बखत त्यो आशिर्वादका प्रत्येक पानाहरू पल्टाउँनेछु । कुनै एक पानामा त मेरा हजुरबाको ज्यूँदो चित्र पनि त होला नि ? गाडीले गाउँ छोड्नै लाग्दा म तल खेतका फाँटहरु अनि पारी हरिया जंगलका पखेटाहरू हेर्नमै मस्त थिएँ । घरी घर सम्झन्थेँ त घरी प्रदेश । नेपथ्यमा प्रकाश थापाको ठाडी भाका बज्दै थियो,”कर्कली पातको पानी, मान्छेको परानी !” आज स्वयम त्यस्तै भयो । भावपूर्ण श्रद्धासुमन हजुरबा । अर्को जुनीमा पनि हजुरकै नाती भएर जन्मिन पाउँ !
०००
०००