१२ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका अवैतनिक राजदूतसँग भेटघाट गरे ।
आज बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा उनले नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने विषयमा छलफल गरेका हुन ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरूका अवैतनिक राजदूतसँग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले स्पष्ट पारेको जानकारी दिए ।
नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन र त्यहाँ रहेका नेपालीहरूको समस्या र सुरक्षाको विषयमा सहयोग गर्न समेत भट्टराईले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकाङ्क्षा सुखी नेपाली,समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरूबाट भइरहेको सहयोगलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्