सम्बन्धहरू अनेक खालका हुन्छन् । कतिपय रगतले गाँसिएका, कतिपय भावनाले जोडिएका । कतिपय बोल्दा बोल्दै बन्न पुगेका, त कतिपय जीवनको गोरेटोमा हिड्दा हिड्दै बाँधिएका । साच्चै ! कति चाडैं पोतिन्छन् यी सम्बन्धका रंगहरू, जिन्दगीको क्यानभास भरी । छ्यालब्याल । छताछुल्ल । छरपस्ट । तर बिल्कुल छर्लङ्ग । केही त यीमध्ये लामै समय सम्म पनि टिकिरहलान् । तर, कैयौं भने केही पल मै सफाचट भैदिन्छन् ।
सम्बन्धहरू कतिपय हृदयमा मीठो सुगन्ध छरेर जान्छन् भने कतिपय नमिठा यादहरू लथालिङ्ग पारेर जान्छन् । आज या त भोलि, आखिर मा एकदिन अवश्य जान्छन् । त्यसै कहाँ भनिएको हो र,”सम्बन्धहरू बस् छुट्टिन कै लागि बन्छन् ।“
यी त भए मानवीय सम्बन्धका कुरा । मान्छे–मान्छे बिच आपसमा गाँसिएका सम्बन्ध । तर, के सम्बन्धहरू केवल मान्छे–मान्छे बिच मात्रै गाँसिन्छन् त ? के यी सम्बन्धहरू भौतिक वस्तुहरू सँग बन्न सक्दैनन् ?
नाइँ ! बस्तुहरू सँग पनि बन्छन्, असङ्ख्य असीम सम्बन्धहरू । होइन भने, लामो समय कतै घुमेर आफ्नो ओछ्यान कोठामा फर्किदा किन आत्मीय शुकुन मिलेको त ! किन हाम्रा बुढा बाबू–आमालाई शहरको सुखसयल भन्दा गाउँ कै कुटो कोदाली मै आनन्द मिलेको त ! किनकी सम्बन्धहरू बस्तु सँग पनि गाँसिएका हुन्छन् । र, यी सम्बन्धहरूको महत्व हुन्छ हजुर ! जुन महत्व कोहि अर्कैको चिल्लो घर या सुकिलो शहरमा कहाँ हुन्छ र !
यिनै सम्बन्ध र यस्तै महत्व बोकेका अमुल्य यादहरूको कथा हो – नाटक ‘सलेदो‘ । जहाँ करिब सत्तरीको दशकमा जीवनका अन्तिम सुस्केराहरू एक्लै सुसेली रहेको एक रिटायर्ड बृद्ध भलाद्मीको मनोवृत्तिलाई निकै कलात्मक ढंगबाट सजाइएको छ । नाटक चलिरहन्छ, अँध्यारो र उज्यालोको चालमा । दृश्यहरू बगिरहन्छन्, कविताको छालमा । यस्तो लाग्छ, यहाँ नाटक होइन, एक सुन्दर कविताको मन्चन भैरहेछ । शब्द, लय, संगीत र भावनाको एक सुरिलो मन्चन । अहो ! साहित्य र रंगमञ्चको कति मीठो संयोजन ।
नाटक बिल्कुल कोलाजमयी बनेको छ । बितेका र बितिरहेका दुई भिन्न समयमा नाटक कुदिरहन्छ । कथाको बर्तमान निकै भावुक भएर प्रस्तुत भैरहन्छ भने बिगत बहुतै रमाइलो । यसरी रमाइलो र भाबुकतालाई ककटेल बनाएर प्रस्तुत गरिएकाले पनि नाटकले सबै खालका दर्शकलाई आकर्षण गर्ने सामर्थ्य राख्दछ ।
नेपाली रंगकर्ममा सुपरिचित जोडीद्वय सुलक्षण भारती र सृजना अधिकारीको क्रमशः लेखन तथा निर्देशनमा बनेको हो नाटक ‘सलेदो‘ । नाटकको प्रमुख भुमिका पनि स्वयम भारतीले नै खुबै बखुबीका साथ निर्वाह गरेका छन् । अघिल्ला नाटकहरू जस्तै ‘सलेदो‘मा पनि सृजना र सुलक्षणको कम्बो निकै प्रिय रुपमा प्रकट भएको छ । उनीहरूका अतिरिक्त ‘सलेदो‘का सबै पात्रहरू पनि बिल्कुल स्वभाविक रुपमा खुलेका देखिन्छन् । बिल्कुल सजीव छन् पात्रहरू ।
खैर ! कतिपय दृश्यहरूमा दर्शकलाई हसाउँन कै लागि भनेर जबर्जस्तीको अभिनय देखाइनुलाई मात्रै छोड्ने हो भने नाटक बिल्कुल महँगो बनेको छ । जिन्दगी, सम्बन्ध, बिछोड र यादहरूको कोलाज नियाल्न कै लागि पनि नाटक हेरिनु पर्छ भन्ने पंक्तिकारको मान्यता छ । नाटक ‘सलेदो‘ अनामनगर स्थित मन्डला थिएटरमा यहीँ जेठ १२ गतेदेखि नियमित मन्चन भैरहेको छ ।
०००
०००