१२ असार, काठमाडाैँ – बिसौँ शताब्दीको अन्त्य र २१ औँ शताब्दीको सुरूमा ब्राजिलका रोनाल्डिन्होले विश्व फुटबलमा जादु छरे । खेलाडीहरूलाई छलाउन माहिर रोनाल्डिन्हो फुटबलका एक अदभूत पात्र थिए । ब्राजिलको स्थानीय क्लब ग्रेमियोबाट फुटबल सुरू गरेका रोनाल्डिन्होले युरोपका प्रतिष्ठित क्लबमा समेत फुटबलको जादु प्रदर्शन गरे ।
सन् २००१ देखि २००३ सम्म फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेलेका उनी २००३ मा भने स्पेनिस जायन्ट बार्सिलोनामा आबद्ध भए । बार्सिलोनामा २००८ सम्म अर्थात् ५ वर्षको अवधिमा उनले १ पटक च्याम्पियन्स लिग, २ पटक स्पेनिस ला लिगा र ३ पटक स्पेनिस सुपर कपको उपाधि चुम्न सफल भए । समग्रमा बार्सिलोनामा सफल हुँदै उनी २००८ मा बार्सिलोनाबाट इटालियन क्लब एसी मिलान तर्फ बसाइ सरे ।
अहिले विश्व फुटबलका जादुगर रोनाल्डिन्होले खेल जीवनबाट सन्यास लिइसकेका छन् भने बार्सिलोनाबाट रोनाल्डिन्हो बाहिरिएको करीब पनि ११ वर्ष पूरा भईसकेको छ । यसैबिच बार्सिलोनाका पूर्व मिडफिल्डर एलेक्सान्डर ह्लेबले बार्सिलोनाबाट रोनाल्डिन्हो बाहिरिनुको कारण बारे मुख खोलेका छन् ।
पूर्व मिडफिल्डर एलेक्सान्डर ह्लेबले बार्सिलोनाका भविष्यको रूपमा हेरिएका लियोनल मेसीलाई गलत संगत हुने डरले बार्सिलोनाले तत्कालीन समयमा रोनाल्डिन्हो र डेकोलाई बेचेको बताएका छन् ।
रोनाल्डिन्हो र डेकोको बहिर्गमनका बारेका बोल्दै पूर्व मिडफिल्डर ह्लेबले भने, “रोनाल्डिन्हो र डेको ट्रेनिङको समयमा मादक पदार्थ सेवन गरेर आउने गर्दथे । त्सयको खराब प्रभाव प्रतिभावान मेसीमा नपरोस भनेर बार्सिलोनाले रोनाल्डिन्हो र डेकोलाई बेच्यो ।“
तत्कालीन समयमा बार्सिलोनामा मेसी र रोनाल्डिन्हो २ प्रतिद्वन्द्वी देशका दाजु र भाई जस्तै थिए । बार्सिलोनाका लागि पहिलो गोल गर्ने क्रममा रोनाल्डिन्होले नै मेसीलाई पास उपलब्ध गराएका थिए ।
रोनाल्डिन्होले २ पटक ब्यालोन डेअर जितेका थिए भने सन् २००२ मा विश्वकपको उपाधि समेत चुमेको थिए ।