११ असार, काठमाडौँ l लागुऔषध दुरूपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको गृहमन्त्री रामबहादुर थापाले बताए ।
लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरूपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको मन्त्री थापाले बताएका हुन् ।
मन्त्री थापाले भने, ‘लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा हाम्रा प्रयास पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुला सीमा नाका कारण पनि लागू औषध दुरूपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहिआएको छ।’
सरकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको थापाले स्वीकार गरेका छन् ।
कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गरेका छन् ।
लागुऔषध दुरूपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको मन्त्री थापाले बताए l