११ असार, काठमाडौँ l सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध गरे पश्चात् आजका लागि निश्चित बैठक स्थगित गरिएको हो ।
यो भन्दा अघि पनि बजेटमा असन्तुष्टि जनाउँदै काँग्रेस र राजपाले रातो पुस्तक जलाएका थिए । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
गएको ५ गते प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ सम्मका लागि उक्त बैठक स्थगित गरेर ११ गतेका लागि आह्वान गरेका थिए ।
बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतको माग छ भने सत्तारुढ दल बजेटको बचाउमा छ । बजेट सन्तुलित रहेकाले संशोधन नहुने आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोराले बताए ।