११ असार, कालिकोट l नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् ।
उक्त कार्यकर्ताले बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेको हो । गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरू जलाएका हुन् ।
उनीहरूले रहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन् ।
विप्लव समूहका कार्यकर्ताहरूले नरहरीनाथ गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल तोडेर पेट्रोल छरी आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए ।
उनले भने, ‘सबै सुतेको बेला आगलागी गरेको र इलाका प्रहरी चौकी कुमालग गाँउका प्रहरी र स्थानीय आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगेको छ।’
आगलागी गर्नेको खोजी भइरहेको र नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको छ l