१० असार, काठमाडौँ l राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाकबाट कार्यान्वयन गर्न सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
हालै सञ्चालनमा रहेको यस्ता आयोजना प्रत्येकको प्रगति समान रुपले हुन नसकेको भन्दै यी आयोजना र अन्य आयोजना कार्यान्वयन गर्ने विधि एउटै भएकाले अपेक्षित परिणाम हासिल हुन नसकेको अर्थमन्त्रीले बताएका छन् ।
आजको प्रतिनिधिसभा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले अरु साधारण आयोजनाले जस्तै राष्ट्रिय गौरवका आयोजनाले पनि विविध समस्याहरु भाग्नु परिरहेको बताए ।
उनले भने, ‘निर्माण सामग्रीको अभाव, ठेक्कापट्टाको अभाव, स्थानीय अवरोध, खरिद सम्बन्धी अरू समस्याहरू जुन अरू साधारण आयोजनाहरूले भोग्नुपर्छ, त्यो राष्ट्रिय गौरवका आयोजनामा पनि पर्दै गयो।’
केही विशाल पूर्वाधार आयोजनाहरूलाई कार्यान्वयन गर्ने बारे ऐनको विधेयक संसद्मा पेस भएको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले भने, ‘फास्ट ट्रयाकबाट यस्ता आयोजना कार्यान्वयन गर्नेमा जाऔँ भन्ने हो भने त्यो कुरा हुन्छ, यसमा छलफल गरेर कुनै निर्णयमा पुग्न सक्छौँ ।’