१० असार, काठमाडौँ l सरकारले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि १ पैसो नदिने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए l
आज बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो भनेका हुन् ।
नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई रोक्न नसकिने स्वास्थ्यमन्त्री यादवले उल्लेख गरेका छन् l
उनले भने, ‘नेपालमा उपचार नभएर मात्रै विदेश जाँदैनन्। नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ l
पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन। तर विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’
देश ठुलै व्यक्तिदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागू हुने मन्त्री यादवले बताए l उनले भने, ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ l सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईँहरू ढुक्क हुनुस्।’