१० असार, काठमाडौँ l नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई पहिले हातखुट्टा भाँचेर गोली हानिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले बताए ।
प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको गृहमन्त्री रामबहादुर थापाले बताएता पनि घटनाको तस्बिर हेर्दा पहिले हातखुट्टा भाँचेर गोली हानेको देखिएको शर्माले बताएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा गत दिन भएको छलफलमा शर्माले गृहमन्त्री थापालाई प्रश्न गरे, ‘पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ? के गोली हानेपछि भाँच्चियो हातखुट्टा? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि आउँछ।’
उनले विगतलाई पनि स्मरण गरे l जनयुद्धमा निहत्था मानिस मारिएको शर्माको भनाइ थियो l उनले भने, ‘के हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौँ? कानुनी कारबाहीमा साथ हुन्छ तर हत्यामा साथ हुँदैन, यो मुठभेडमा हो भन्ने लाग्दैन।’
शर्माले विप्लवले मुठभेड चाहेकाले सरकार त्यसतर्फ जान नहुने बताउँदै गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न पनि आग्रह गरेका छन् ।
नेकपाकी सांसद रेखा शर्माले सङ्कटकाल सम्झँदै भनिन्, ‘सङ्कटकालमा एक वर्ष आर्मीको क्याम्पमा बस्दाभित्र हातखुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको थियो । कुमार पौडेलको हात चार/पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको छ त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ।’