Logo

प्रधानमन्त्री ओलीले हुकुमी शैलीमा शासन गर्दै आएको सांसद भुसालको आरोप



Spread the love

९ असार, काठमाडौँ l आजको प्रतिनिधिसभा बैठकमा शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप सांसद पुष्पा भुसालले लगाइन् ।

उपचारका क्रममा रहेका निलम्बित सांसद रेसम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारबाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्रीको हुकुमी शैली भएको तर्क भुसालले गरिन् ।

कारागार ऐनमा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था रहेको जिकिर गरिन् l त्यस्तै सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरिन् ।

भारतीयपक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाको १० हजार विगाहा जमिन डुबानमा परेको उनले बताएकी छन् l

सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

सांसदहरू डिला संग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वती कुमारी विसुंखेले राजधानीमा अज्ञात समूहले महिलामाथि ‘सिरिन्ज’ आतङ्क मच्चाउँदै महिलालाई आतंकित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग तत्काल वार्ता सुरु गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्