९ असार, काठमाडौँ l पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसका नेता गगन थापालाई जवाफ दिए ।
आज गगनले गोरखा पुगेर ‘बाबुरामलाई जितायौँ, अब क्षमापूजा गरिन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । काँग्रेसकै कारण प्रतिनिधिसभाको चुनाव जितेको बताउँदै गुण बिर्सेर बाबुरामले काँग्रेसलाई गाली गरेको आरोप गगनले लगाए ।
भट्टराईले भने गगनलाई ट्वीटरबाट जवाफ फर्काएका छन् । भट्टराईले गगनकै जवाफका लागि २ वटा ट्वीट गरेका छन् ।
प्रथम ट्वीटमा भट्टराईले लेखे, ‘काँग्रेसका साथीहरूले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला । गोरखा र रसुवामा नयाँ शक्ति र नेकाबीच तालमेल भएको हो । गोरखा२मा नयाँ शक्ति र रसुवामा नेकाले जितेको हो। नयाँ शक्तिको समर्थनविना नेकाले रसुवामा जित्ने थिएन भन्ने चाहिँ किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’
त्यसैगरी भट्टराईले आज अर्को पनि ट्वीट गर्दै जवाफ दिए । ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई काँग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? काँग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथदिन तयार छौँ ।’