९ असार, काठमाडौँ l काठमाडौँ उपत्यकामा केही सातायता फैलिएको सुई आतंकबारे संसद्मा कुरा उठेको छ ।
नेकपा सांसद नविना लामाले महिलामाथि सुई रोपी आतङ्क फैलाइएको भन्दै संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिँदै सांसद लामाले भनिन्, ‘आजभोलि काठमाडौँ उपत्यकामा अज्ञात समूहले महिलामाथि सुई रोपी आतङ्क फैलाउँदै हिँडेका छन् ।
यसले महिलाको सुरक्षामाथि गम्भीर चुनौती खडा भएको छ । महिलालाई सुरक्षित महसुस हुने वातावरण तयार गर्न सुई प्रहारमा संलग्नलाई तत्काल कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।’
महिलामाथि प्रहार भएको उक्त वस्तु सुई नै हो कि अन्य कुनै धातु हो भन्ने कुरा पुष्टि हुन सकेको छैन । सो बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।