९ असार, काठमाडौँ l नेकपाका सांसद गजेन्द्र बहादुर महतले सांसदको तलब कटाएर भए पनि आणविक राष्ट्र बन्नुपर्ने बताए । त्यस्तो सोचाइ सांसदहरूलाई आफैबाट आउनुपर्ने महतले बताएका छन् ।
सांसद महतले विवादित ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको बहस नकारात्मक कुरातिर मात्रै भइरहेको असन्तुष्टि पोखे ।
सानो देश भएकाले खतरा छ भन्ने हिसाबले नसोची न्युक्लियर हतियारमा पनि जान सक्नुपर्छ भन्ने माइन्ड बनाउनुपर्ने उनले आग्रह गरे ।
उनले प्रश्न गरे, ‘अहिलेबाट खुट्टा कमाएर भारत, चीन र अमेरिकाले के भन्ने हो भन्ने तथा हामी बर्बाद हुन्छौं भन्ने बुझाइ राखेर पनि हुन्छ?’ खुट्टा कमाएर गरेको बहसले ठिक ठाउँमा नपुर्याउने पनि उनले बताएका छन् ।
आजको बैठकमा महतले भने, ‘जिज्ञासाहरू करेन्ट लाग्छ, आगोले पोल्छ, पानीले बगाउँछ भन्ने किसिमले आउन थाले। यसरी गइयो भने बहस ठिक ठाउँमा पुग्दैन, ‘करेन्ट लाग्ने, आगोले पोल्ने, पानीले बगाउने मात्रै सत्य होइन। बहस पनि एक ढङ्गले गयो । नकारात्मक कुरातिर मात्रै गयो।’
महतले आणविक राष्ट्र भएकैले इरानलाई अमेरिकाले आक्रमण गर्न नसकेको तर्क दिँदै सांसदहरूलाई त्यतातिबाट सोच्न आग्रह गरेका छन् । महतले भने, ‘अमेरिकाले अहिले किन इराक ध्वस्त पार्यो तर इरानमा हात हाल्न सकेको छैन त? त्यसरी पनि बुझौँ न। अहिले त्यहाँ नपुगौंला। तर हाम्रो दिमागले त्यता पनि सोच्नुपर्छ’ ।