८ असार, हुम्ला ।
काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
बालगृहबाट उद्धार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकायको रोहबरमा अभिभावकलाई बुझाइएको हो ।
कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै हुम्लाका विभिन्न गाउँबाट काठमाण्डौैको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा अलपत्र पारिएका बालबालिकाको उद्धार गरिएको हिमाली नवीन समाज नामक संस्था हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए ।
अवैध रुपमा विभिन्न जिल्लाबाट ऐश्वर्य बालगृहमा पुर्याइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको यो संस्थाले जनाएको छ । केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र हिमाली नवीन समाज हुम्लाको पहलमा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।
बालगृहले आवश्यक मापदण्ड नै पूरा नगरी बालगृह सञ्चालन गरिरहेको थियो । कतिपय बालबालिकालाई विद्यालयसमेत नपठाएको पाइएको थियो । बालबालिकाको स्वास्थ्य अवस्थामासमेत वास्ता नगरेको पाइएपछि उनीहरुको उद्धार गरिएको थियो ।
बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बालबालिका ओसार–पसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताए ।
गाउँमा अभिभावकबाट ३० हजार देखि १ लाखसम्म रकम लिएर कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै बालबालिकालाई काठमाण्डौ लगेको सिमकोट–१ कुम्ली गाउँका रामभक्त उपाध्यले बताएको छ । ( रासस )