अब भारत जाने नेपालीका लागि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरूका लागि भारतको भिसा आवश्यक पर्ने जनाएको छ । सूचनामा भनिएको छ, ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरूका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’
यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको ‘नो अब्जेकसन’ वा सिफारिसपत्र आवश्यक पर्ने जनाएको थियो । पटक–पटक उक्त नियमका कारण झन्झट र अप्ठ्यारो परेका गुनासो आएपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानुपर्ने नेपाली नागरिकका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा ‘नो अब्जेकसन’ वा सिफारिस पत्र आवश्यक पर्ने भएको छ । यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।