Logo

राता पखेटा



Spread the love

मलाई भर्खर याद आयो – आज नै एउटा लेख लेख्नु छ । भित्ताको घडी ५:५४ मा अट्कीएको ५ दिन भइसक्यो । हातको घडीमा भने भोलि हुन मात्र ३३ मिनेट बाकी छ । र म सोचमा छु ,लेख्नलाई सोच जरुरि छ वा सम्झना ? हरेक नयाँ सेकेन्डमा मान्छे भित्र एक नयाँ सोच आइपुग्छ । मस्तिष्क तिनै सोचहरुको सुकुम्बासी क्रिडास्थल हो । जीवनमा कुन सोचले कति स्थान पाउने हुन् सोचहरुको पावर र पहुँचले निर्धारण गर्छ । कमजोर र पहुँच कतै अवचेतनमा गुजुल्टीन्छन्।

यदी तपाई तिनै सोचको गुजुल्टोलाई सुल्झाउने बारे सोच्दै हुनुहुन्छ भने तपाइको हातमा पक्कै पनि कैची छ होला । नभए भान्छामा जानोस् । भर्खरै काटेको प्याजको गन्ध जीउ भरि घसेर झुन्डिरहेको चक्कु उठाउनोस र आफ्नो हात काट्नोस । रगत आयो ? रातो छ  ? बधाई छ। सबैको रगतको रंग रातो हुन्छ भने सोच्नु हुन्छ भने, तपाईले सबै भित्र मान्छेलाई मात्र राख्नु भयो ।

मान्छे सबै थोक होइन । सबै थोक मान्छे मात्र पनि होइन । यो मैले भन्नु पर्ने कुरा पनि होइन । तर यो हामीले बिर्सिरहने कुरा हो । हामी त यो पनि बिर्सन्छौ कि मान्छेले आफ्नो टाउकोमा लगाएको सर्वश्रेष्ठ प्राणीको  श्रीपेच पनि मान्छे स्वयमले बनाएको हो । अनि मान्छेले आफूलाई मान्छे भनि दिएको परिचय पत्रमा पनि मान्छेको मात्र हस्ताक्षर छ। कुनै दिन प्रकृति रिसायो भने मान्छेको एकलौटी सत्ता पल्टिने पक्का छ ।

कुरामै अल्झाए, तपाइको हातको काटिएको ठाउँबाट बाट रगत बगिरहेकै छ ? छ भने पट्टि बाध्नोस् । प्याड लगाउनुहोस् ।
‘प्याड म्यान’ चलचित्र हेर्नुभएको छ तपाइले ?  गुड, तर मेरी आमाले हेर्नु भएको छैन। तर उहाँले हेर्ने सिरिएलको बिचमा कुनै राम्री युवती सेनेटरी प्याडको विज्ञापन गरिरहन्छिन् । ‘अझ एक्स्ट्रा लामो अझ एक्स्ट्रा मुलायम ।’ माफ गर अरुणाचलम मुरुगनंतम, अझै पनि मेरी आमा लुकाएर सुतिको कपडा धोइरहनु हुन्छ ।

आज बिहानै मलाई मेरी श्रीमतीले मेरो पर्सबाट १०० रुपैया झिकेर मेरै हातमा राख्दिन् र भनिन् – एउटा प्याड ल्याईदिनोस न्। म नजिकैको मेडिकल पुगे । मेडिकलको मालिक आफ्नी रोइरहेकी छोरीलाई चाउचाउ देखाएर फकाउदै थियो । त्यो देखेर उसले के पढेको र कसरी पढ्यो भनेर खोजीनीति गर्नु पर्थ्यो(पर्थेन मैले सोचिन ।) मलाई त प्याड किन्नु छ । र तपाईलाई पनि थाहा छ, सामान किन्दा टेलिभिजनमा विज्ञापन हेरी हेरी दिमागमा टासिएको कुनै कम्पनीको नाम फुत्त निस्कनु अनौठो कुरा होइन । तर त्यही सामान मात्र बजारमा सहजै भेटिनु अनि महँगो लाग्नुमा कसको दिमाग छ ? तपाइको दिमाग छ ? छैन ?

एउटा प्याड पसलले लुकाएर पत्रिकालाई खाम बनाएर दिन्छ । किन चहिन्छ खाम ? भित्रको वस्तु महत्वपूर्ण भएर अथवा लाज लाग्दो भएर ? उसो त सबैभन्दा धेरै खाम प्रेमपत्रको बाहिर हुन्छ । के प्रेम पनि लाजलाग्दो हुन्छ ? के तपाइलाई कहिले प्रेमपत्र आएको छ ? तर प्याड प्रेमपत्र होइन । यो प्रेम भन्दा पनि बढी आवश्यक कुरा हो ।

हामी मान्छे कहिलेकाहिँ मात्र अरुको बारेमा सोच्दछौ । अझ त्यसमाथि म त पुरुष, मैले त छुट्टै अनुमति पत्र पाएको छु जिम्मेवार हुनु नपर्नेको । जुन मेरा बाले मेरी आमाले र मेरो समाजले, म सानै हुँदा मेरो मस्तिष्कलाई दिएका हुन् । र सायद म र मेरी श्रीमती मिलेर कुनै दिन हाम्रो छोरालाई दिनेछौ । तपाई आफ्नो छोरालाई । अनि छोरीलाई चाहिँ हामी कुचो दिने छौं , जुठो भाडा दिने छौं, भान्सा दिने छौं र भन्ने छौं – यो संस्कार हो नानी। चुप लाग्नु, सहनु अनि उठेका प्रश्नलाई मनमै दबाउनु । छोरी मान्छेको संस्कार हो भन्ने मान्न थालेकै वर्ष/दुई वर्षमा उ महिनावारी हुनेछे ।

त्यतिबेला हामी समझदार बन्ने छौं । र उसलाई छाउघर पठाउने छैनौ । उसलाई उसकै कोठामा नजरबन्द मात्र गर्ने छौं ।उसले बुवा खोजि भने भन्ने छौं, बुवालाई सन्चो छैन वा अफिस जानुभएको छ । उसले भाइ खोजि भने भन्ने छौं, स्कूल गएको छ वा भन्ने छौं खेल्न गएको आएको छैन । केहि  गरि भाइले उसलाई खोज्यो भने भन्ने छौं, बाबु छुइ हुँदा छुनु हुन्न दिदिलाई ।उसले कर गर्यो भने थर्काउने छौं,  कुट्ने छौं ।

हामी छोरीलाई भन्ने छैनौ, यस्तो बेला मन्दिर नजानु, बुवा अनि भाइलाई नछुनु, खाने कुरा नछुनु । किन कि उसलाई नराम्रो लाग्ने छ । बरु सबैलाई उबाट टाढा राख्ने छौं । र चाहना राख्ने छौं उसले केहि नभनी बुझोस् हाम्रो संस्कार, मानोस संस्कार र प्रश्न नगरोस संस्कार माथि ।

उसकी आमा सोच्दै छिन् – हामीले पनि पाएका थिएनौ यो सुविधा । हामीले जसरि उसले छाउघर जानु परेको छैन । ऊ त कृतज्ञ हुनु पर्छ, म प्रति, समय प्रति । उसकी आमालाई यो थाहा हुदाँहुँदै बताउने छिनन् ( तिमि माटो हौ। जसले जीवन फलाउने गर्छ । त्यही माटोलाई सधै उर्वरा बनाउन खराव तत्त्व केलाउने काम हो – महिनावारी ।

तपाइलाई पनि यो थाहा छ ? छैन ?
तपाइले कति पटक देख्नु भएको पनि होला । तपाइले खाना खादै गर्दा तपाइको भान्सा कोठाको ढोका बाहिर भोकाएका आखाहरु । ति आखा कुकुरका होइनन् तपाईकै छोरिका हुन् । जसका पैतलालाई तपाई हामीले बनाएको महिनावारी बार्ने चलनले भान्सा भित्र छिर्न दिएको छैन । तपाइ उसलाई भित्र बोलाउन चाहनु हुन्छ तर किन आजसम्म भित्र बोलाउन सक्नु भएको छैन ?

महिनावारी बार्ने चलन बारे तपाइले होस् वा मैले, कम्तिमा पनि हामी पाँच देखि सात वर्षका हुँदा घर, छिमेकमा भएका महिलाहरुबाट नै थाहा पाएका हौ ।यही उमेरमा शक्तिशाली र शक्तिविहिनको अवस्था महसुस गरेर महिलाहरु आफै हेपिन खोज्ने र पुरुषहरु हेप्न खोज्ने सामाजिकीकरण बारे बुझ्न थालेका हौ ।

यहि सामाजिकीकरणका कारण अहिले तपाईकी श्रीमती, छोरी वा बुहरिमाथि सामाजिक, शारीरिक, मनावैज्ञानिक, राजनीतिक, आर्थिक विभेद र हिंसा हुदैछ ।

यसो सोच्नोस त तपाई किन आफु भान्साबाट टाढा बस्नु हुन्छ ? र किन यो सोच्नु हुन्छ कि तपाइको मुख्य जिम्मेवारी पैसा कमाउनु हो । घर खर्च जुटाउनु हो । किन कि तपाईको बुवाले यसै गरेको देखेर तपाई हुर्कनु भएको हो ।तपाइलाई थाहा छ । पैसा आजको सबैभन्दा चलेको र सहज शक्ति नापक यन्त्र हो। तर जब तपाई पैसा कमाउन सक्नुहुन्न । तब तपाई शरीरको सहारा लिनु हुन्छ । संस्कारको सहारा लिनु हुन्छ । उस्तै परे किताब लेख्नु हुन्छ, र बनाउनु हुन्छ हामीले मान्नुपर्ने चलनको लामो सूची ।

विश्वास नलागे एकपटक आफू बाची रहेको देश मात्र घुम्नुहोस्। यही देशमा महिनावारी भएका बेला महिनावारी भएकी हाम्री छोरी, बहिनिहरु , उनिहरुको रगत, उनिहरूले प्रयोग गर्ने सामान, उनीहरुको बासस्थान, खानेकुरा, उनीहरुको गतिविधि आदिलाई लिएर झन्डै ४० भन्दा बढी बार्नुपर्ने चलनहरु छन्।

के यी सबै चलनहरु हाम्री छोरि बहिनिले महिनावारी हुँदा आराम गर्न पाउन भनेर शुरु गरिएका हुन् त ? के यी संस्कारहरु उनीहरुको स्वास्थ्य अनुकुल छन् त ?

हरेक दोस्रो दिन जसो गाउँमा महिलाका समस्यालाई सम्बोधन र समधान गर्ने भन्दै ढोकामा कोही न कोही आइपुग्छ । उनीहरु टपरी बनाउन सिकाउछन्, धुप बनाउन वा नारी दिवसको नारा कण्ठ गर्न लगाउछन् । तर उनीहरु प्याड लगाउन सिकाउदैनन् ।

तपाइलाई पक्का थाहा होला ? हाम्रो देशमा महिनावारी केवल अशिक्षासँग मात्र जोडिएको नभई यो धर्म, संस्कृति, लैंगिक विभेद, गरिबीसँग जटिल प्रकृतिले गाँसिएको छ । तपाई घोप्टि रहने समाचा पत्रिकाका कमर्सियल र कामुक हेडलाइनबाट आखा बचाएर बाहिर हेर्नु भयो भने देख्नु हुने छ- अशिक्षित, गरिब महिला मात्र नभएर महिनवारी कै अभियन्ता वा नारी, मानव अधिकारमा काम गर्ने कर्मचारी देखि पत्रकार, राजनीतिकर्मी, स्वस्थ्यकर्मी, शिक्षिका, आदि सबै महिनावारी बार्छन तर बोल्न हिच्किचाउछन् ।

जब समाजमा सामाजिक चेतना बढाउने भूमिकामा रहेकाहरु बोल्न खोज्दैनन्, सक्दैनन् तब एउटी सामान्य छोरीको आत्म सम्मान कहाँबाट तपाइको, समाजको र देशको चासोको कुरा बन्छ ।

जबसम्म तपाइको मस्तिष्कमा तपाइले बनाएको छाउपडी भत्काउनु हुन्न । जबसम्म राजधानीको कुनै सुकिलो तन्नाबाट एउटी छोरी महिनाको ३० दिन नै अप्ठ्यारो नमानी भान्छामा पस्न सक्दिन । जबसम्म बानेश्वर संसद भवनको शौचालयमा प्याड रखिदैन । जब सम्म….. मेरी बहिनिले अप्ठ्यारो नमानी दादा प्याड ल्याईदे है भन्न सक्दिन तब सम्म मैले कुनै लेख , तपाइले कुनै कविता लेख्दैमा अथवा डोटी वा बाजुरा पुगेर गोठहरु जबरजस्ती भत्काउँदैमा मात्र कसैकी छोरी आत्मसम्मान सँग बच्न पाउदिन ।

तपाइकी छोरी १२ देखि १५ वर्षको उमेर बीच जब पहिलो पटक महिनावारी भएकी थिइन, तब तपाईले आकाश जस्तो मुस्कानका साथ उसलाई अंगालो हाल्नु भयो ? र भन्नु भयो – ,प्रिय छोरी !  महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

यदी तपाइले यस्तो केहि नभनेको भए…
पहिलो पटक एक्लिएकी तपाइकी छोरी, वेदनाले छट्पटाउदा उसको बुवालाई बोलाउने छे, तब तपाई उसको कोठाको झ्यालमै अचल हुनु हुनेछ । जब फेरी ऊ तपाइलाई बोलाउने छिन् तब उसकी आमा आउने छिन् र पसिना पुछिदिने छिन् । फेरी जब भाइलाई बोलाउने छे, आमा आउने छिन् र योनी पुछि दिनेछिन् । उसले त्यति बेला मान्ने छे, हिजो आमा एक्लै थिइन आज म एक्लै छु ।

जब आँशुको बहाव विस्तारै कम र रगत बिस्तारै बढ्दै जाने छ । भुइँ भरि बगेको रगत देखेर तर्सिन छाड्ने छे ऊ । त्यही रगत लाई बिस्तारि जब छुने छे, उसलाई पहिलो पटक लाग्ने छ – ऊ केहि सिर्जना गर्न सक्ने छे । तब आफ्ना औलाहरुले आफ्नै रगत चोपेर बनाउने छे पखेटा । भूई भरि एकजोर राता पखेटा ।

तब तपाईसँग अन्तिम अवसर हुनेछ उसको आत्मसम्मान बचाउने। हिम्मत गर्नोस् । उसको नजिक जानोस् । उसको कापिरहेको हात समाउनुहोस् र भन्नूहोस् – छोरि बधाई छ ।

०००

 

लेखकबाट थप:

पुरानो साथी

फन्को

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

प्रतिक्रिया दिनुहोस्