चित्रकला सँग परिचित भएको लगभग १० वर्ष भएछ । चित्रकलालाई रोजेदेखी अक्सर एउटा प्रश्न बराबर सामना गर्नु परेको छ ।
किन पढ्नु भएको चित्रकला ?
मैले तुरुन्त दिने जवाफ हो– रुची छ । सोध्नेहरुलाई यो जवाफ चित्त बुझ्दैन । प्रश्नकर्ताले चित्र बनाएर कति कमाउँछस् भन्ने जान्न चाहेको कुरा अनुहारको भावभंगीबाट प्रष्ट बुझ्न सकिन्छ । कतिको जवाफ हो- मलाई पढाउन मन थिएन । तर म स्कूलबाट फर्केर यो लेख्दै छु ।
रह्यो किन ? भन्ने प्रश्न ।
एउटा सामान्य मान्छेको यो जिन्दगी आखिर किन ? भन्ने सोच्दैमा सकिन्छ वा सोचौँला भन्दा भन्दै सकिन्छ । त्यसैले माफी चाहन्छु । किनको खास जवाफ के हो, त्यो मलाई पनि थाहा छैन । तर यति चैं पक्का हो; चित्र मेरो सबैभन्दा पुरानो र मिल्ने साथी हो । आज त्यही प्रिय साथी सँगका सुरुवाती दिनहरु सम्झन्छु ।
सम्झनाको समयरेखा वि.सं. २०५७ आसपास
बर्दियाको मानपुर टपरा स्थित मौवा गाउँमा बसिरहेको थियो हाम्रो परिवार । तर परिवारका सबै सदस्य एकसाथ बस्न पाएका थिएनौं । घरमा आमा, म र बहिनी मात्र थियौं । सारा देश युद्धबाट प्रभावित थियो । बुवा सरकारी कर्मचारी भएकाले गा.वि.स. कार्यालय सँगसँगै सदरमुकाम गुलरिया सरेको दुई वर्ष भइसकेको थियो । घरमा बुवालाई खोज्दै हतियार बोकेका मान्छे आउनु नियमित जस्तै थियो ।
आमाले चटक्कै आफ्नो घर जग्गाको माया मार्न सक्नु भएको थिएन । त्यसैले हामी मानसिक तनाब र डर सहँदै गाउँमै बसेका थियौं । दिदिहरुको बिहे भैसकेको थियो ।फागुनको महिनातिर एक रात माओवादी र सेना बीचको भिडन्तमा गाउँको स्वास्थ्य चौकी र हाई-स्कुल पुरै ध्वस्त भए । गाउँमा भएको एकमात्र स्कुल पनि युद्धको चपेटामा आइसकेपछि हाम्रो पढाई ठ्याप्प भयो । अब बाख्रा चराउनु, चौरमा पल्टिएर हेलिकप्टर हेर्नु र गुलेली लिएर दिनभर डुल्नु नै मेरो दिनचर्या भयो ।
स्कूल बन्द भएको महिना दिन जति भैसकेको थियो । दिनभर हल्लिनु र जमिनसँग खेल्नु बाहेक खासै काम हुदैनथ्यो । त्यसै डुल्दै गर्दा नजिकैको खोला छेउ बालुवामै हातले एकजना १२ वर्ष जतिको थारु केटा केहि केरिरहेको थियो । म छेउमै उभिएर हेर्न थालें । हेर्दा हेर्दै एकैछिनमै उसले खुब गजबको चरा बनायो । उसैले मलाई पहिलो पटक चित्र बनाउन सिकायो । या भनौ उसैले बनाएको चित्र हेरेर मैले पहिलो पटक चित्र बनाए । उसको जति राम्रो त भएन तर नराम्रो पनि होइन ।
मैले बनाएको चराको चित्र हेरेर ऊ मेरो छेउमा उभिरहेको रहेछ । मुसुक्क मुस्कुराएर भन्यो- सुग्गर बा । टूहार नाम का हो ?
उसको नाम थियो रामजान थारु । त्यसपछिका एक महिना जति हामी सँगै हिड्यौं । भेटे जति ठाउँमा चित्र बनायौं । चाहे त्यो माटोमा होस् वा बालुवामा । औंलाले होस् वा अंगारले । मैले चित्र बनाउन चाँडै सिकें । मेरो र उसको चित्र लगभग उस्तै हुन थाले । रामजान मेरो सबै भन्दा मिल्ने साथी भयो । पढ्नु भन्दा डुल्नु र चित्र बनाउनु हामीलाई त मस्तीको विषय थियो तर अभिभावकको लागि चिन्ताको कुरा ।
एकरात सुत्नै लाग्दा ढोकामा अचानक कसैले दस्तक दियो । हामी दाजु बहिनी डरले निला भयौं । आमाले हामीलाई एकपटक पुलुक्क हेर्नु भयो र हिम्मत जुटाएर ढोका खोल्नु भयो । बाहिर काँधमा छड्के झोला बोकेर बुवा उभिनु भएको थियो । बुवालाई देख्ने बित्तिकै मेरो मनमा खुशीको तरङ्ग फैलियो । बुवा आफ्नै घरमा २ वर्ष पछि आउनु भएको थियो । म दौडिएर बुवाको छातीमा टाँसिए, लाडिए र किन नआएको यतिका दिनदेखि भन्दै रोएँ । आमा केहि नबोली खाना बनाउन लाग्नु भयो । बहिनी र म बुवाको काखमा पल्टिएर स्कुल जानु नपरे पछिका कुरा सुनायौं । खाना पाके पछि बुवा भान्सामा जानु भयो । खाना खाँदै गर्दा आमा रोएको आवाज सुनें । आजसम्म कहिले नरोएकी आमा अचानक बुवालाई देखेपछि किन रुनु भयो ?
सोच्दै थिएँ, सुक्क सुक्क गर्दै सानो स्वरमा आमा बोलेको सुनें- किन आएको तपाई ? माओवादीले थाहा पाए भने ?
भोलिपल्ट घाम नउदाउँदै बुवा र मैले गाउँ छाड्यौं । आमाले घर छाड्न मान्नु भएन । रामजनम गाउँमै छुट्यो । घरबाट निस्केर थोरै मात्र हिँडेका थियौं, केहि काला छायाँहरु हाम्रै अगाडी आएर रोकिए । उनीहरु कसैको अनुहार चिनिदैन थियो । प्रस्टसँग केहि देखिएको थियो भने त्यो बुवाको छाती तिर तेर्सिएको बन्दुक थियो ।
कहाँ जान लागेको ? एउटा बन्धुकधारीले बुवाको झोला खोस्दै बुवासँग प्रश्न गर्यो ।
– नेपालगन्ज । बुवा ले यत्ति भन्नु भयो ।
– किन ? अनि काम के गर्छस् ? बन्दुकधारीले बुवाको झोला खोतल्दै बुवासँग रुखो स्वरमा प्रश्न गर्यो ।
– गा.वि.स सचिव ।
झोलामा भएका सबै कागजपत्र हेरिसकेपछि बन्दुकधारी उठेर म तिर हेर्यो । बुवातिर संकेत गर्दै मलाई सोध्यो– यो को हो तेरो ?
म बन्दुक देखेर त्यसै तर्सेको थिएँ । प्रश्न सुनेर रुन मन लाग्यो । बुवाको मुख तिर हेरेर रुन्चे स्वरमा भनें– बुवा ।
त्यसपछि अर्को बन्दुकधारीले मैले बोकेको झोला खोतल्यो । एउटा कापी निकाल्यो । मलाई मेरो नाम लेख्न लगायो । पहिले लेखिएका अक्षर र भर्खरै लेखेका अक्षर दाँजेर हेर्यो । बुवालाई मेरो नाम सोध्यो र कापी बुवाको हातमा दिएर भन्यो– बिहान बिहानै नहिन्नुस् सचिव जी मर्नुहोला ।
बुवा केहि बोल्नु भएन । एउटा हातले कापी र अर्को हातले मलाई समातेर सरासर हिड्नु भयो । थोरै अगाडी पुगेर मैले सोधें- ती को हुन् बुवा ? मेरो औँला बेस्सरी समातेर बुवाले सुस्तरी भन्नुभयो– सेना ।
युद्धबाट टाढा राख्न र पढाउन बर्दियाबाट नेपालगन्ज सरियो । सुरक्षित रहन एक्लिनुको विकल्प पनि थिएन । अब परिवार तीन तिर बाँडियो । म नेपालगंजमा आफन्तका पनि आफन्तकोमा बस्न थाले ।
नयाँ स्थान, नयाँ माहोलमा सहज बनाउन सबैभन्दा ठुलो भुमिका खेल्दो रहेछ, त्यहाँका व्यक्तिहरुको हार्दिकताले । त्यस्तै भूमिका खेल्ने मध्य एक थिए, नयाँ स्कूलका सामाजिक शिक्षक । कक्षा तीनमा पढ्न आएको मलाई मायाले मुस्कुराएर उनैले पहिलो पटक सोधेका थिए- चित्र मन पर्छ ?
पढाई औसत थियो । मेरा हरेक कापीका पानाहरु चित्रले भरिन्थे । पढाउने शिक्षकको अनुहार बनाउनु सबैभन्दा गजबको अभ्यास प्रक्रिया बन्यो । किताबमा भएका व्यक्तिहरुको अनुहारमा चस्मा र जुँगा थपिदिनु । शौचालयका भित्तामा प्रजनन अंगहरु बनाउनुले चित्र बनाउने काममा रमाइलोपन थपिरहे ।
टुकीको वरीपरी नाँचेरै सकिने भुसुनाको जस्तो जिन्दगी बाँचेर आएको मलाई नेपालगन्ज बेहद सुन्दर सहर थियो । गाउँमा घर उज्यालो हुँदैन रातमा । सहरमा सडक पनि झिलिमिली । त्यतिबेलासम्म मैले यति बिशाल सहर देखेकै थिइनँ । बिजुली बत्ति समेत पहिलोपटक त्यही देखें । एकैपटक दुई तीनवटा मोटर गुड्ने फराकिलो सडक ।मनपरी डुलिरहेका गधा अनि साँढे । उस्तै तमासले कुँदिरहेका रिक्सा, साइकल, बस अनि टाँगाहरु । सिमेन्ट र सरिया बोकिरहेका ठेलाहरु । मान्छेहरु । अहो ! त्यसदिन पहिलोपल्ट लाग्यो, मेरो गाउँ त सानो रहेछ ।
त्यसमध्ये पनि सहरमा सबैभन्दा आकर्षक र मेरो मनलाई लोभ्याउने एक अर्को कुरा थियो । हिन्दी चलचित्रको रंगिन पोस्टर । सहरभरी यस्ता पोस्टर जताततै टाँसिएका हुन्थे । टाँगा वा रिक्सा त्यो बेला अलौकिक लाग्थ्यो, जब पछाडि पट्टि पोस्टर बाँधेर गीत घन्काउँदै दौडी रहन्थ्यो । मलाई फिल्म हेर्ने रहर लाग्यो । तर पढ्नलाई अरुको घर बसिरहेको थिएँ । खाना त चाहेको जस्तो र चाहेको बेला पाइदैन थियो, त्यस्तोमा फिल्म हेर्ने अवसर वा पैसा पाउनु असम्भव नै थियो । रहरहरु दबिदै गए । फिल्मका पोस्टरहरु बद्लिदै गए ।
थोर बहुत चित्र बनाउन आउँथ्यो । रामजानको संगतमा सिकेको थिएँ । छुट्टीमा भगवानका चित्रहरु हेरेर पेन्सिलले हुबहु बनाउने कोसिस गर्दथे । बनिसकेका चित्रको पछाडी पट्टि आफ्नो नाम लेखेर पत्र मन्जुसा खसाली दिन्थें । अहिले सोच्छु, पुग्नु पर्ने ठेगाना सम्म नलेखिएका ती चित्रहरु कहाँ पुगे होलान् ? हुलाकीको गोजी सम्म, घरसम्म ?
एकदिन मेरो चित्र देखेर एकजना साथीले माग्यो । मैले दिन मानिनँ । उसले पैसा दिन्छु भन्यो र पहिलो पटक १ रुपैयाँमा बेचें मैले आफ्नो चित्र । १ रुपैयाँमा आधा घण्टालाई भाडामा पाइन्थ्यो साइकल । बिपी चोकदेखी त्रिभुवन चोक हुँदै बागेश्वरी मन्दिरको एक फन्को मारेर आउन सकिन्थ्यो आधा घण्टामा । चित्रबाट कमाएको पहिलो पैसाले मैले साइकल चलाएँ । एक महिना पछि त्यही साथीको नाममा त्यो चित्र मुना पत्रिकामा छापियो । मन खिन्न भयो । आफ्नो नाम आइदिएको भए हुन्थ्यो झैं लाग्यो । तर पनि बेच्ने क्रम रोकिएन । ४, ५ वटा चित्र बेचे पछि एउटा ठुलो रहर पुरा भयो । लक्ष्मी चलचित्र मन्दिर पुगेर जीवनको पहिलो चलचित्र हेरें– माउते दाई ।
जसरी धतुरो लाग्छ, त्यसैगरी सहर पनि लाग्दो रहेछ मान्छेलाई । गाउँमा धुलोमा खुट्टा गाडेर हुर्किएको मान्छे जब सहर पस्दछ, जुत्ता लगाउँछ । माटो बिर्सन्छ । माटो बिर्सिए पछि मान्छे उड्न खोज्छ । हावाको भरमा उडेको मान्छेलाई लाग्दो रहेछ, मसँग पखेटा छन् । जसरी हुरी चल्दा उडेको प्लास्टिक पुग्छ अलिक परसम्म, त्यसरी नै धरातल बिना उडेको मान्छे पुग्ने पनि बस् त्यती नै पर हो । मलाई सहर लागे जस्तो मात्र भयो । वास्तबमा त्यो धुलो मात्र थियो, जो एक झट्कामा झर्थ्यो ।
जोसँग बस्थें, ती आफ्ना थिएनन् । जो आफ्ना थिए, उनीहरुसँग बस्न पाइएन । जसले बसालेका थिए उनीहरुको लागि यो नभैदिएको भए हुन्थ्यो नि भन्ने पात्र मात्र बनेको थिएँ । खाएका पकाएका जुठा भाँडा माझ्नु पर्थ्यो । तर मैले तिनै भाँडालाई क्यानभास माने । साबुनलाई रङ । र पनिको अन्तिम स्ट्रोक पछि जे बन्थ्यो त्यसलाई एक चहकिलो चित्र ।
चित्रको अर्थ- रमाइलो गर्नु । अथवा केहि सानातिना रहर पुरा गर्नु । साथीहरु माँझमा फरक देखिनु सम्ममा मात्र सिमित भएको भए सायद जीवनबाट चित्र बालापन जसरी असमयमै सकिन्थ्यो होला । तर जसरी झरीले रुझाउने मात्र होइन सफा गर्ने काम पनि गर्दछ । जसरी इरेजरले मेटाउने मात्र नभई फेरी लेख्ने अवसर पनि दिन्छ । त्यसरी नै चित्र रहर मात्र नभई साथी बनिदियो । साथी त्यो सम्बन्ध हो, जहाँ माग र पुर्तिको खेल हुँदैन । नापतौल हुन थाले कि सम्बन्ध टुट्छन् कि बोझ बन्छन् ।
समयले सहरमा पनि लुकिछिपी युद्ध भित्र्याउँदै थियो । विद्यार्थी र सेनाका जुत्ताहरु बराबर गरी बज्ने गर्दथे । एकाबिहानै साइकलमा झुण्डिएर आउँने दुधका भाडाहरू पनि चेकजाचमा पर्न थालेका थिए । पत्रिका फ्याक्ने मान्छेहरु ढिला गरी चलायमान हुन्थे । उनीहरु पत्रिका भन्दा ज्यादा उज्यालो कुर्दथे । चिया पसलबाट निस्कने सबैभन्दा ठुलो आवाज हुन्थ्यो, चियाको चुस्कीको ।
अँध्यारोको जगजगी थियो । दिन ढिला गरी सुरु हुन्थ्यो र चाँडै सकिन्थ्यो । मन्दिरको पुजारी, स्कुलको मास्टर, ज्यामी होस् अथवा जड्याहा सबै गाईबस्तु खोर पस्ने समयमै घर भित्र पसिसक्थे । साँझ परेपछि नडराई बाहिर निस्कने कि जुन हुन्थ्यो, कि जुनकिरी ।
राती भुइमा सुत्नु पर्थ्यो । एक्लै । प्रायजसो माओवादी र सेना बीच भिडन्त भैरहन्थ्यो । बम बारुद पड्केको आवाज आइरहन्थ्यो । खुब डर लाग्थ्यो अँध्यारोसँग । अनि अँध्यारोलाई नै क्यानभास बनाएर आमाको अनुहार, बुवाको पाखुराको सिरानी सम्झन्थें । हावामा औंला नचाउँथे । त्यो भन्दा ज्यादा उपाय पनि थिएन ।
त्यही साल फागुनको महिनातिर हो । जोसँग बसेको थिएँ उनीहरु एक दिनलाई भनेर गाउँ गए । तर तीन दिन हुँदा सम्म फर्किएनन् । कोठामा बचेको जति खाने कुरा सकियो । खानाको नाममा सुकाएका बयरका दानाहरु मात्र बाँकी रहेका थिए । त्यही चबाएर अरु दुइ दिन काटें । तर जब भोकले ज्यादै पिरोल्यो, म सडकमा आएँ ।परिवार भएर पनि अनाथ जस्तो भएँ । शिरमाथि मायाले सल्बलाउने हात आफु भन्दा धेरै टाढा थिए । मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । बारम्बार आफूबाट भागौं जस्तो लाग्दथ्यो । भागेर जानु त कहाँ ? दुःख र अभाव बाहेक सजिलै के पाइन्थ्यो ? बसौं कहाँ बसौं ? भनौं कसलाई भनौं ? आफुलाई ?
एक्लो हुँदा सबैभन्दा नजिकको मान्छे आफु भएता पनि आफुसँग कहाँ रमाउँछ मान्छे । मान्छेलाई भीड चाहिन्छ रमाउनलाई । कमसेकम एक अर्को मान्छे हुनु पर्छ रमाउनलाई । तर जब एक अर्को मान्छे सम्म हुन्न तब ?
तब चाँहिदो रहेछ कला । मान्छेलाई आफुसँग रमाउन सिकाउने कुरा हो- मान्छे भित्रको कला । चित्रले त्यही भूमिका खेल्यो । चित्र मेरो सबैभन्दा नजिकको साथी बन्यो । चित्रले त्यो बेला सिकाएको सबैभन्दा सुन्दर कुरा थियो- कल्पना गर्न ।
म कल्पना गर्न थालें, बादलका थुम्काहरुमा टेक्दै हिडेको आफु । झरीका लहराहरूमा झुण्डिएर आकाशबाट घरको आँगनमा पुगेका मेरा खुट्टा । आमाले बनाएको बाक्लो कालो दाल । बुवाको काँधबाट देखिने मकैबारीको दृश्य । मेरा गीतमा रमाइरहेकी मेरी बहिनी । मेरो नाम लिएर रोइरहेकी दिदी । रोइरहेकी दिदी । साँच्चै मेरो छेउमै रोइरहेकी थिई दिदी । ऊ मलाई अंगालो हालेर रुन थाली । मेरो भाग्य बलियो रहेछ । सडकमा आएको दिनमै दिदीले भेटी । नत्र सायद, मेरो अस्तित्व उतै कतै विलय हुन्थ्यो होला । दिदी घरबाट माइत जान हिँडेकी रहिछ । आँशु रोकिएपछि सबै कुरा सोधी । होटलमा गएर खाना खायौं अनि घर पुग्यौं । मेरो कुरा सुनेर आमा खुब रुनुभयो । म दौडिएर रामजानको घर पुगें । ऊ त्यहाँ थिएन । ऊ जंगल हिडेछ । कुचीजस्ता नरम हातमा बन्दुक बोकेर । अलिक पछि खबर आयो म जोसँग बस्थे उनीहरु भिडन्तमा मारिएछन् ।
नेपालगन्ज सहरबाट फर्किदा मसँग केहि सम्झना र चित्र मोहसँगै फर्किए । जसलाई आजसम्म बोकेर हिडिरहेको छु । बीचमा घटनाहरु जोडिदै गए । भाव, भोक, हाँसो, युद्ध, संघर्ष इत्यादी । देशमा अनि जीवनमा उतार चढाव पनि निरन्तर भरहेको छ । र सँग सँगै चित्र लेख्ने बानी । एउटा जिन्दगी अनेकौं प्रकारका घटनाहरु जोडिएर बनेको हुन्छ । जति नै अप्ठेरो, जति नै एक्लोपन भएता पनि चित्रले मलाई कल्पना गर्न सिकायो । चित्रले मलाई मसँग बाँधी राख्यो । जीवनसँग जोडी राख्ने साथी पाउनु र उसैसँग लामो यात्रामा हिड्न पाउनु जति ठुलो उपलब्धि अरु के होला ?
०००
०००