६ असार , काठमाडौँ। प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने क्रम शुरु भएको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकूद र शहरी विकास मन्त्रालयका विषयमा उठेको प्रश्नको आजको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।
विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिन आजसहित असार ८, ९ र १० गतेका लागि कार्यसूची तय भएको छ । सरकारले जेठ १५ गते सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा राजश्व र व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गरेको थियो ।
उक्त बजेटमा मन्त्रालयगत रुपमा छुट्याइएको रकम र कार्यक्रममाथि गत जेठ २८ गतेदेखि सदनमा छलफल शुरु भएको थियो । यसअघि आव २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि जेठ १९, २०, र २१ गते सामान्य छलफल भएको थियो । त्यस बेला उठेको प्रश्नको अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिएपछिे विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको थियो । रासस