Logo

गण्डकी प्रदेशसभाको बैठकमा बजेट सम्बन्धमा छलफल



Spread the love

४ असार, पोखरा – गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार प्रस्तुत गरेको बजेट सम्बन्धमा छलफल गरिएको छ । बैठकमा सत्तापक्षी प्रदेशसभा सदस्यले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी बजेट आएकाले बजेटको समर्थन गरे भने प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले बजेट महत्वाकाङ्क्षी एवं वितरणमुखी भएको आरोप लगाए ।

प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले गत आवको अनुभव समेतका आधारमा बजेट ल्याइएको बताए । यसले प्रदेशको आम्दानी र स्रोतलाई समेत बढावा दिएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य भगवतप्रकाश मल्लले बजेट वितरणमुखी भएको आरोप लगाए । प्रदेशसभा सदस्य विनोद केसीले बजेट निरन्तरतामा नविनता भएको बताए । प्रदेशको समृद्धिका लागि महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

यस्तै प्रदेशसभा सदस्य पियारी थापाले बजेटले सुगमलाई मात्र चिनेको र दुर्गमलाई चिन्न नसकेको धारणा राखिन् । बैठकमा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्रबहादुर थकाली र इन्द्रधारा विष्टले बजेट प्रदेशको विकासलाई लक्ष्य गरी आएको बताए । बैठकमा प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी, प्रभा कोइराला, जुनादेवी नेपाली लगायतले बजेटको प्रभावकारीरुपमा कार्यान्वयनमा जोड दिए । बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त विधेयक विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्ताव सभाले सर्वसम्मत् पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपक कोइराला, विष्णुप्रसाद लामिछाने र हरिशरण आचार्यले प्रदेशको विकास एवं बजेटको सही कार्यान्वयनका लागि आयोग गठन आवश्यक रहेकामा जोड दिए । अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्