४ असार, काठमाडाैँ – सुदूरपश्चिम पृतनापति ट्रफी प्रतियोगितामा रुद्रध्वज गण, डोटीले अग्रता कायम राखेको छ । कञ्चनपुर र कैलालीमा पाँच दिनदेखि जारी उक्त खेलकूद प्रतियोगितामा रुद्रध्वज गणले उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।
कञ्चनपुरको भीमदत्तनगरस्थित सैनिक खेल मैदानमा मंगलबार सम्पन्न भलिबलमा रुद्रध्वज गणले भवानीदल गणलाई ३–१ सेटले पराजित गर्यो । अर्को खेलमा भवानीबक्स गणले रणबम गणलाई ३–१ सेटमा हराएको नेपाली सेनाले जनाएको छ । लिग चरणको नतिजा अनुसार रुद्रध्वज गण र रणबम गण उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै भीमदत्तनगरमा भइरहेको बास्केटबलमा रुद्रध्वज गणले भवानीदल गणलाई ७४–३८ अङ्कले जित हासिल गरेको छ । अर्को खेलमा भवानीबक्स गणले रणबम गणलाई ४९–३६ अङ्कले पराजित गर्यो । बास्केटबलमा पनि रुद्रध्वजले नै अग्रता कायम गरेको छ । यसैगरी कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा भएको फुटबलमा भवानीदल गणले रणबम गणलाई ४–० गोलले पराजित गरेको छ ।
बुधबार भीमदत्तनगरमा पौडी खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाली सेनाले जनाएको छ ।