झट्ट सोच्दा ‘प्रेम‘ साधारण लाग्न सक्छ । अक्सर हामी सबैजना केही पंक्ति र अनुच्छेदमा यसलाई सजिलै परिभाषित गर्दिन सक्छौं । हरेकका मुख मुखमै छन् प्रेमका परिभाषाहरु । बच्चा, वयस्क देखी बृद् सम्म सबै प्रेमका पारखी भैसकेका हुन्छन् । तर साच्चिकै प्रेमको असली अर्थ, परिभाषा र बुझाइ हामीले सोचे–देखे भन्दा केही फरक र असीम पनि हुन सक्छ । प्रेमबारे थुप्रो प्रश्नहरू सजिलै उठान गर्न सकिन्छ । तर जवाफ दिन या पाउन भने अलि मुस्किल पर्न सक्छ । आखिर के हो त प्रेम ? प्रेम गरिन्छ या आफैं हुन्छ ? सबैले चर्चा गर्ने प्रेम निचोडमा के एउटै हो त ? हामीले देख्दै–सुन्दै आएका प्रेम प्रसङ्ग वास्तव मै असली प्रेम हुन् त ?
यसरी प्रेमको असली अर्थ र महत्त्व बारे नै अन्योल भैरहेको यो स्थितिमा प्रेमका पेग भरिएका २४ थान कथा लिएर बजारमा आएको छ-‘पर्फ्युम‘ कथासङ्ग्रह। समकालीन नेपाली साहित्यमा स्थापित एवं उदीयमान गरी २४ आख्यानकारका एक–एक थान प्रेमकथाहरू समेटिएको ‘पर्फ्युम‘, राजकुमार बानियाँ र दीपक सापकोटाको संयुक्त सम्पादनमा तयार भएको हो । कथाकारितामा प्रेमकथा–सेक्सनलाई जमाउने हेतुले प्रकाशन गरिएको यस पुस्तकमा समकालीन नेपाली साहित्यको शिल्प-शैली सहितको वर्तमान चित्र स्पष्ट रुपले देख्न सकिन्छ ।
‘पर्फ्युम‘ हातमा पर्ने बित्तिकै प्रेमबारेका अनेक प्रश्न र सवालहरू अझ सक्रिय हुन पुग्छन् । नेपाली साहित्यमा प्रेमलाई कसरी प्रस्तुत गरिएको छ त ? आखिर के सोच्छन् हाम्रा लेखकहरू प्रेमको बारेमा ? हामीले बुझ्ने प्रेम र उनीहरूले लेख्ने प्रेम के एउटै हो त ? आदि-इत्यादि।
तर दुखलाग्दो कुरा ! यी सब प्रश्नहरू पुस्तकको अध्ययन पश्चात् सम्म पनि बिल्कुल अन्योलमा परिरहन्छन् । र, जे जति प्रश्नहरूका जवाफ भेटिन्छन्, ती सबैको निष्कर्ष एउटै हुन्छ,”हाम्रा लेखक पनि, हामीले जस्तै, प्रेमलाई केवल देह आकर्षण भन्दा केही माथीबाट हेर्न कदापी सकिरहेका छैनन् ।“
‘पर्फ्युम‘को सम्पादकीयमा सम्पादक स्वयम् सवाल उठाउँछन्,”पछिल्लो काल थुप्रै कथाकृतिले पुरस्कार पाएका छन्, कतिपय ‘बेस्टसेलर‘ भएका पनि छन् । तर, ‘जरा हटके‘ भन्ने केही पनि देखिँदैन । कथा कथाको फर्म्याटमा मात्र छन्, कथाका नाममा कथा । अबका लेखकले ‘टाइम पास‘ मात्र हुने कथा लेखेर हुन्छ ?” विगतको तुलनामा नेपाली कथा साहित्यको वर्तमान निकै खस्किएको उनीहरूको गुनासो छ । समय सँगै कथाका विषयवस्तुहरूमा त परिवर्तन आयो होला तर लेखन शैली र शिल्प अझै पनि गुरुप्रसाद मैनाली कै गोरेटोमा लम्किरहेको देखिन्छ ।
यसरी विविध सवालहरू माथी विचार पुर्याउदा पुर्याउदै पनि ‘पर्फ्युम‘ फेरि उहीं पुरानै सुगन्ध बोकेर आएको छ । पुरानै शैली र प्रेमको एकोहोरो बुझाइका कारण प्राय कथाहरूमा कताकता चित्त नबुझेको महसुस हुन्छ । सबैजसो कथाहरूमा प्रेमलाई केवल देह आकर्षण, यौन उत्कन्ठा, वैवाहिक सम्बन्ध या विपरीत लिङ्गी प्रतिको लगाव भन्दा माथी उठेर प्रस्तुत गर्न सकिएको/खोजिएको छैन । जसले गर्दा असली प्रेमको अर्थ र महत्वबारे नै गलत बुझाइ पैदा हुने स्थितीको सृजना हुन्छ । के प्रेम केवल शरीर सुख या आकर्षण मात्रै हो त ? पुस्तक स्वयम अन्योलमा देखिन्छ ।
पंक्तिकारको नजरमा ‘पर्फ्युम‘का कथाहरू भन्दा बढी त बरु पुस्तकको अन्त तिरको गुरुङ शुसान्तको सिधा, प्रष्ट र इमानदार भुमिकाले सजिलै पाठकको मन जित्ने सामर्थ्य राख्दछ । यति सम्मको सुन्दर विश्लेषणात्मक भुमिका अहिले सम्म सायदै लेखिएका होलान् । उनका अधिकांश पंक्तिहरूमा पाठकको चित्त बुझ्ने आधार प्रशस्त भेट्न सकिन्छ । उनी लेख्छन्,”पुरानै सङ्गीतको भाषालाई भाँचभुच पारी रिमिक्स भर्सन तयार गरेजस्ता छन् ‘पर्फ्युम‘ भित्रका कथाहरू ।“
जेहोस्, ‘पर्फ्युम‘ भित्रका प्रेमकथाहरू हाम्रो समाजका वास्तविक चित्र भने अवश्य हुन् । हाम्रो समकालीन समाजको प्रेम प्रतिको दृष्टिकोण, युवा देखि वयस्कहरू सम्ममा यसको प्रभाव एवं संयोग–वियोगका कुरा, हाम्रा लागि कुनै नयाँ नौला विषयवस्तु पक्कै होइनन् । हाम्रै वरिपरि यतै कतै पक्कै भेटिन्छन् यी कथा कहानीहरू । यस अर्थमा पनि ‘पर्फ्युम‘ समकालीन समाजका प्रेमकथाहरूको सचित्र प्रस्तुती हो । हाम्रो समाजमा प्रेम प्रतिको धारणा र नेपाली साहित्यमा कथा लेखनीको वर्तमान स्थिती बारे बुझ्न चाहने जो कोहिका लागि पनि पुस्तक निकै फलदायी हुन सक्छ । तर, केहि फरक स्वाद र सुगन्धको अपेक्षा राख्नेहरूलाई भने ‘पर्फ्युम‘ले केही निराश अवश्य बनाउन सक्छ ।
पर्फ्युम
सम्पादक : राजकुमार बानियाँ
दीपक सापकोटा
प्रकाशक : इन्डिगो इन्क
पृष्ठ : २६५
मूल्य : रू ३९९ /-