Logo

तिरुमा मोटरबाटो, एकीकृत बस्ती निर्माणमा सहजता



Spread the love
सांकेतिक तस्बिर

३२ जेठ , रसुवा – हिमाली जिल्ला रसुवाको दुर्गमस्थान तिरु सडक सञ्जालमा जोडिएको छ । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–१ अन्तर्गतको तिरुमा मोटर बाटो पुगेसँगै एकीकृतबस्ती निर्माण कार्यले गति लिने भएको छ ।

प्रदेशसभाको रु एक करोड र सांसद विकास कोषको रु ७० लाख गरी कूल रु एक करोड ७० लाख लागतमा साँढे सात किलोमिटर सडकको निर्माण सम्पन्न गरिएको हो । तिरु सडकको निर्माणबाट गोगनेसमेत ३०० घरधुरी लाभान्वित हुनेछन् । बाटो निर्माणसँगै तिरुको ५८ रोपनी जमीनमा एकीकृत बस्ती निर्माणकार्य शुरु भएको छ ।

सो एकीकृत बस्तीमा २०७२ सालको भूकम्पले तिरुबाट विस्थापितलाई पुनःस्थापित गराइने छ । यसका लागि १०९ घरधुरीले लालपूर्जा प्राप्त गरिसकेका छन् भने बाँकीको प्रक्रिया अगाडि बढेको छ । भूकम्पले तिरुबाट ३०० घरपरिवार विस्थापित भई रसुवाकै खाल्टेमा जीवन बिताइरहेका छन् ।

रसुवाको खाल्टेबस्ती बस्न जोखिमपूर्ण रहेको प्रतिवेदनले देखाएपछि सांसद मोहन आचार्यको पहलमा तिरुमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । बाटो निर्माणसँगै आफ्नो थातथलोमै पुनर्वास हुने खुशीले स्थानीयवासी दङ्ग छन् । बाटोको उद्घाटन गर्दै सांसद आचार्यले एकीकृत बस्ती निर्माण कार्यले अब चाँडै पूर्णता पाउने बताए ।

उनले समृद्ध रसुवा निर्माण आफ्नो उच्च प्राथमिक्तामा रहेका विकास र समृद्धिको पहिलो सर्तका रुपमा रहेकोले बाटो निर्माणलाई उच्च प्राथमिक्ता दिइएको बताए ।

निर्वाचनका बेला आफूले गरेका प्रतिबद्धता अनुरुप अहिले जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोडिने काम भइरहेको भन्दै उनले बाटो निर्माणपछि स्थानीयवासीको दिनचर्या सहज बन्नुका साथै स्थानीय उत्पादनको बजार पहुँचमा समेत वृद्धि भएको बताए ।

प्रदेश सांसद प्रेम तामाङ र उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले खानेपानी स्वास्थ्य र शिक्षाको पूर्वाधारको निर्माणलाई पनि सँगसँगै अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्