Logo

बेरोजगारलाई रोजगारी



Spread the love

३१ जेठ, रुकुम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका छन् । चालू आर्थिक वर्षमै काम गर्ने गरी छनोट भएका बेरोजगारले करीब एक महीना रोजगारी पाउँदै छन् । जसका लागि जिल्लामा बजेट आइसकेको छ ।

छ स्थानीय तहका लागि रु दुई करोड सात लाखस बजेट जिल्लामा आएको हो । तीन नगर तथा तीन गाउँपालिकामा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै सङ्घीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उक्त बजेट जिल्लामा पठाएको छ ।

स्थानीय तहले भरेका बेरोजगार फार्मको आधारमा बजेट र काम पाउनेको सङ्ख्या तोकिएको बताइएको छ । सबैभन्दा बढी बजेट मुसीकोट नगरपालिकामा आएको छ । रु ४३ लाख बजेट पाएको मुसीकोटले १९४ जनालाई एक महीना बराबरको रोजगारी प्रदान गर्ने रोजगार संयोजक माया श्रीवास्तवले जानकारी दिनुभयो ।

रु ४० लाख बजेट पाएको आठबीसकोट नगरपालिकाले १८१ जना बेरोजगारलाई रोजगारी प्रदान गर्नेछ । चौरजहारी नगरपालिकामा रोजगारी प्रदानका लागि भनेर रु ३६ लाख बजेट प्राप्त भएको छ । यसबाट १६२ जना बेरोजगारले रोजगारी पाउने रोजगार संयोजक कृष्ण शर्माले बताउनुभयो ।

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट सानीभेरीमा आएको छ । एक सय ४० जनालाई रोजगारी प्रदान गनुपर्ने दायित्व पाएको सानीभेरीमा रु ३१ लाख बजेट प्राप्त भएको छ । चालू आर्थिक वर्षमा बाँफिकोट गाउँपालिकाका १३१ जना बेरोजगारले रोजगारी पाउनेछन् ।

जसका लागि रु २९ लाख बजेट आएको छ । रु २८ लाख बजेट पाएको त्रिवेणी गाउँपालिकाले १२६ बेरोजगारलाई रोजगारी प्रदान गर्नुपर्नेछ । स्थानीय तहले गाउँगाउँ गएर भरेको बेरोजगार फार्मका आधारमा बजेट र सङ्ख्या निर्धारण भएर आएको स्थानीय सरकारले बताएका छन् । जिल्लाका ७३ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू हुनेछ ।

जिल्लाका कतिपय स्थानीय तहले बजेट बाँडफाँट गरेर काम पनि शुरु गराइसकेका छन् । कार्यक्रमको कार्यविधिका आधारमा कार्यक्रम कार्यान्वयन गरिसकेको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले जानकारी दिनुभयो । आएको बजेटको योजना तर्जुमा गरेर काममा लगाइसकिएको उहाँको भनाइ छ ।

कार्यविधिमा गोरेटो बाटो मर्मत, सिँचाइ मर्मत, सडकको नाली बनाउने, खानेपानी मर्मतमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै श्रम गर्नुपर्ने जुनसुकै ठाउँमा पनि यो बजेट खर्च गर्न सकिने र बेरोजगार सूचीमा सूचीकृतलाई काम दिनुपर्ने उल्लेख छ ।

–––

प्रतिक्रिया दिनुहोस्